रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि २३ महिना उमेर समूहका सबै बालबालिकाले पाउनुपर्ने सबै खोपको पुरै मात्र पाएपछि गाउँपालिकालाई शनिबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभयो । गाउँपालिकाभरमा रहेका १६ देखि २३ महिना उमेर समुहका ३ सय ५८ जना बालबालिकाले सबै १२ प्रकारका खोपको पूर्ण मात्रा पाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले खोप पाएको र १५ महिनाभन्दा कम उमेर समुहका बालबालिकाहरुले पनि खोप पाउने सुनिश्चित भएपछि औपचारिक रुपमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका १० वटा वडालाई यस अघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिकाको सभाहल खारनेटामा कार्यक्रम भएको थियो । स्वास्थ्य शाखा संयोजक प्रेमबहादुर पुनले खोपको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सह–संयोजक विरबहादुर डाँगीले संचालन गर्नुभएको थियो ।