रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का ८ घरमा खरको छाना हटाईएको छ । खरको छाना मुक्त कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०७८/०७९ मा ८ घरमा खरको छाना हटाई जस्ता पाताको छाना राखिएको हो । सबै ८ घर परिवार विपन्न रहेको वडाले जनाएको छ ।
यसका लागि प्रति परिवार ५० हजारका दरले पैसा पाएको वडाध्यक्ष धनवहादुर खड्काले जानकारी दिनुभयो । खरको छानामुक्त कार्यक्रमका लागि यो वर्ष ८ घरमा ४ लाख रुपैंया खर्च भएको उहाँले बताउनुभयो । यो संगै वडाका १३ विपन्न परिवारले जस्ताको छाना पाएका छन् ।
गत आर्थिक वर्षमा ५ परिवारले जस्तापाताका लागि सहयोग पाएका थिए । गतवर्ष पनि प्रतिपरिवार ५० हजारका दरले २ लाख ५० हजार खर्च भएको वडाध्यक्ष खड्काले बताउनुभयो । कर्णाली प्रदेश सरकारको सहयोगमा नगरपालिकामा खरको छाना मुक्त कार्यक्रम चलिरहेको छ । उक्त बजेट नगरपालिकाले विभिन्न वडामा खर्च गरिरहेको छ ।