घटना नम्बर १
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ बागबजार बस्ने गीता विकको घरमा गतवर्षको असोज ६ गते चोरी भयो । घरमा कोही नभएको मौका पारी अज्ञात व्यक्तिले गीताको घरमा पसि २ तोला सुन, वाइफाइका लागि जडान गरिएको राउटर लगायतका वस्तु चोरे । चोरी भएको उजुरी लिएर गीता जिल्ला प्रहरी कार्यालयमा पुग्नुभयो । प्रहरीले अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा बागबजार प्रहरी पोष्ट नजिकै जडान गरिएको सिसी क्यामेराको फुटेज हेर्न खोजियो । तर सिसी क्यामेराले काम नगरेकोले चोरी हुँदा वखतको गतिविधि क्यामेरामा कैद नभएको पाईयो । सिसी क्यामेरा फुटेजबाट केही क्लु पाईने आशा बोकेका प्रहरी अधिकारी निराश बने भने चोरी भएको सुन लगायतका सामग्रि भेटिने गीताको आशा क्षीण बन्यो । चोर अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।
घटना नम्बर २
गत चैत्र ३० गते मुसीकोट नगरपालिका १ बागबजारकी कोपिला बुढाथोकीलाई ठक्कर दिएर एउटा मोटरसाईकल भाग्यो । ठक्कर दिने मान्छेको पहिचान हुन नसकेपछि घटनास्थल नजिकै जडान गरिएको सिसी क्यामेरामा उक्त मोटरसाईकल कैद भएको हुनसक्ने भन्दै पिडित बुढाथोकी जिल्ला प्रहरी कार्यालयमा पुग्नुभयो । तर प्रहरीले सिसी क्यामेराले काम नगरेको र घटना क्यामेरामा कैद नभएको जवाफ दियो । बुढाथोकीलाई ठक्कर दिने मोटरसाईकल पत्ता लाग्न सकेन् ।
घटना नम्बर ३
सानीभेरी गाउँपालिका ३ का छविलाल बिष्टले खलंगाका त्रिवेणी चोक नजिकै पार्किङ गरी राखेको मोटरसाईकलबाट हेल्मेट चोरी भयो । यो घटना गत माघ हो । हराएको हेल्मेट पत्ता लगाउन बिष्ट जिल्ला प्रहरी कायालय जानुभयो । हेल्मेट कसले लग्यो भनेर त्रिवेणी चोकमा रहेको सिसी क्यामेराको फुटेज हेर्न खोजियो । तर यो क्यामेराले पनि काम गरेन् । बत्ति नभएकोले क्यामेराले काम नगरेको र त्यहाँको गतिविधि क्यामेराले रेकर्ड गर्न नसकेको प्रहरीले बतायो । बिष्टले हराएको हेल्मेट अझै पनि पाउनुभएको छैन् ।
..........................................................
शान्ति सुरक्षामा सहयोग पुगोस भन्ने उदे्श्यले मुसीकोट खलंगाका विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । चोरी, झैझगडा लगायतका विभिन्न अपराधिक घटनामा कमि आओस भन्ने उदे्श्यले मुसीकोट नगरपालिकाले गत वर्षको असारमा बजारका विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गरेको थियो । सिसी क्यामेराले बजारमा जथाभावि फोहरा फाल्ने गतिविधिलाई पनि रोक्ने अपेक्षा गरिएको थियो । तर उद्ेश्य पुरा हुन सकेको छैन् । सिसी क्यामेरा जडान भएपछि खलंगा बजारमा चोरी लगायतका घटनामा कमी आउने अपेक्षा बजारवासीले गरेका थिए । सिसी क्यामेराले काम नगर्दा सिसी क्यामेरा जडान हुनु र नहुनुमा कुनै फरक छैन् । १५ लाख लगानीमा सिसी क्यामेरा जडान गरिएको थियो ।
क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बत्ति अनियमित हुँदा सिसी क्यामेराले २४ सै घण्टा काम गर्न नसकेको प्रहरीको भनाई छ । बत्तिको समस्याका कारण २४ सैं घण्टाको फुटेज रेकर्ड हुन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । ‘झ्याप्प झ्याप्प बत्ति आउने र जाने भइरहन्छ, उहाँले भन्नुभयो हामी संग व्याकअप छैन्, बत्ति नभएको बेला सिसी क्यामेराले काम गर्दैनन् ।’ बत्ति नभएको बेला भएको घटनाको फुटेज रेकर्ड नहुँदा चोरी लगायतका घटनामा अनुसन्धान गर्न समस्या भएको उहाँले बताउनुभयो ।
यद्धपि सिसी क्यामेराका लागि पावर दिन व्याकअप जडानको तयारी भने भइरहेको उहाँले बताउनुभयो । यसबारेमा मुसीकोट नगरपालिकासंग छलफल भइरहेको उहाँको भनाई छ । व्याकअप राख्ने र २ वटा सिसी क्यामेरा थप्ने तयारी भइरहेको डिएसपी सोतीको भनाई छ । उहाँका अनुसार दुई वटा क्यामेरा खलंगाको बराहटाकुरामा रहेको झोलुंगे पुलको वारी र पारी पट्टी जडान गरिने छ ।