रुकुम पश्चिमको झुल्नेटा–नुवाकोट सडक खण्डमा पर्ने त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को भिरबाटीमा सडक मर्मत गरिएको छ । उकालो सडक त्यसमा पनि बिग्रिएपछि यातायातका साधन आवत जावतमा समस्या भएको थियो । मोटरसाईकल समेत निस्किन सक्ने अवस्था थिएन् । गाउँपालिकाले उपभोक्ता समिति मार्फत उक्त सडक मर्मत गरेपछि भने अहिले सहज भएको छ । साढे १२ लाखमा पाँच सय २० मिटर बाटो मर्मत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।
बाटो विग्रिएर आवत जावतनै बन्द भएपछि बाटो मर्मत गरिएको उहाँले बताउनुभयो । कटिङ गरेर उकालो बाटोलाई सम्याईएको बताईएको छ । करिब १० दिन लगाएर सडक मर्मत गरिएको हो । हाल साना तथा ठुला सवारी साधनलाई सहज भएको छ । यो बाटो भएर त्रिवेणी गाउँपालिका वडा नम्बर ९, १०, ८ सहित चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र सल्यानकाे दार्मा गाउँपालिकाका विभिन्न वडामा जान सकिन्छ । हरेक वर्षको वर्षायाममा यो ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।