Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा हुने 

रुकुम पश्चिमका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । स्थानीय तहको घोषणा कार्यक्रम सकिएपछि अव जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको छ । जिल्लालाई यहि असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणाका लागि कर्णाली प्रदेश खोप समन्वय समितिसंग अनुमति माग गरिएको थियो ।

जिल्ला खोप समन्वय समितिले गरेको आग्रहलाई स्विकार गर्दै प्रदेश खोप समन्वय समितिले घोषणाका लागि अनुमति दिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । १५ देखि २३ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोपको सबै मात्रा पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लामा जन्मेदेखि १५ महिना उमेर समुहका बालवालिकाहरुले आफ्नो उमेर अनुसारका सबै खोपको मात्रा पाईरहेको र आगामी दिनमा समेत पाउने सुनिश्चित भएको उहाँको भनाई छ । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमले खोपको महत्व सम्बन्धी थप सचेतना फैलिने र नियमित खोप कार्यक्रमहरु थप प्रभाकारी रुपमा संचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जिल्लामा चालु वर्षको जेठ मसान्तसम्मको खोपको प्रगति ९५ प्रतिशत रहेको बताईएको छ । असार महिनाको रेकर्ड जोड्दा ९९ प्रतिशत पुग्ने अनुमान छ । गत वर्षको प्रगति पनि ९९ प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । रुकुम पश्चिम देशको ६५ औं र कर्णाली प्रदेशको चाैंथाे जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा हुन लागेको खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update