Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगाको झोलुंगे पुलमा सिसी क्यामेरा जडान गरिने 
खलंगाकाे झाेलुंगे पुल ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरा झोलुंगे पुलमा सिसी क्यामेरा जडान गरिने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पुलको दुई तिर सिसी क्यामेरा जडान गरिने भएको हो । मुसीकोट नगरपालिकाको सहयोगमा पुलको वारीपारी २ वटा सिसी क्यामेरा जडान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पुलमा हुनसक्ने अपराधिक गतिविधिलाई मध्यनजर गर्दै पुलमा सिसी क्यामेरा जडान गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । 

यो पुलमा केही महिना अगाडी जवरजस्ती करणीको प्रयास भएको थियो । यस्ता गतिविधिहरु आगामी दिनमा पनि हुनसक्ने जोखिम रहेकोले सयममै सुरक्षा सतर्कता अपनाउन लागिएको डिएसपी सोतीको भनाई छ । विद्युतको अभाव हुन नदिनका लागि व्याट्री व्याकअप सहित सिसी क्यामेरा जडान गर्न लागिएको उहाँले बताउनुभयो । यसकाे निगरानी जिल्ला प्रहरी कार्यालयले गर्ने छ । सिसी क्यामेरा जडान गरिएपछि पुलमा हुने गतिविधिलाई  निगरानी गर्न सहज हुने र यसले अप्रिय घटना हुनबाट राेक्ने अपेक्षा गरिएकाे छ ।

वडा नम्बर १ खलंगाको बराहटाकुरा देखि वडा नम्बर २ लाई जोड्ने गरी निर्माण गरिएको यो झोलुंगे पुलमा मान्छेहरुको भिड लाग्ने गरेको छ । जसका कारण सुरक्षा जोखिम पनि बढ्दो रहेको सुरक्षा निकायको भनाई छ ।
 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update