Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ६ सय ८७ उम्मेदवारले बुझाएनन् खर्च विवरण 

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनामा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । कुल ९ सय २ जना उम्मेदवार बनेकामा हालसम्म २ सय १५ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्ले जानकारी दिनुभयो । बारम्बार ताकेता गर्दा पनि ६ सय ८७ जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण नबुझाएको उहाँले बताउनुभयो ।

निर्वाचनको परिणाम आएको ३० दिनभित्रमा उम्मेदवारहरुले निर्वाचनको खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । तर जिल्लाका अधिकांश उम्मेदवारले तोकिएको समयमा खर्च विवरण बुझाएका छैनन् ।२३.८३ प्रतिशत उम्मेदवारले मात्र खर्च विवरण बुझाएको निर्वाचन अधिकारी मल्लको भनाई छ । उहाँका अनुसार सबैभन्दा बढी खर्च विवरण बुझाउनेमा मुसीकोट नगरपालिकाका छन् । मुसीकोटका १ सय १ जनाले निर्वाचन खर्च विवरण बुझाएको मल्लले बताउनुभयो । सबैभन्दा कम खर्च आठबीसकोटका उम्मेदवारले बुझाएका छन् । 

निर्वाचन कार्यालयका अनुसार आठबीसकोटका २ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । त्रिवेणी गाउँपालिकाका ४५ जना, चौरजहारी नगरपालिकाका १७ जना, बाँफिकोट गाउँपालिकाका १४ जना र सानीभेरी गाउँपालिकाका ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ । जिल्लाका सबै पार्टी तथा नगरपालिका, गाउँपालिकालाई खर्च विवरण बुझाउन ताकेता गर्दै पत्र पठाईएको र फोन गरेर समेत जानकारी गराउँदा पनि खर्च विवरण प्राप्त हुन नसकेको निर्वाचन अधिकारी मल्ले बताउनुभयो ।

प्राप्त भएको विवरण निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले समेत केही समय अगाडी देशभरीकै उम्मेदवारहरुलाई खर्च विवरण बुझाउन ताकेता गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update