Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको घुम्ती शिविर ‘रद्द’
चौरजहारी नगर कार्यपालिकाको कार्यालय ।

सबै तयारी भइसकेको शिविर अन्तिममा आएर रद्द भएको छ । चौरजहारी नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय सहित जिल्ला स्थित १२ वटा कार्यालयले एकीकृत घुम्ती शिविर गर्ने तयारी गरेका थिए । माघ २९ र ३० गते चौरजहारी नगरपालिकामा एकीकृत घुम्ती शिविर गर्ने तयारी थियो । तर अन्तिममा उक्त शिविर नहुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले शिविर स्थगन भएको सूचना निकालेको छ भने चौरजहारी नगरपालिकाले शिविर रद्द गरिएको सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले प्राविधिक कारण तय भइसकेको शिविर स्थगित भएको जानकारी दिनुभयो । चौरजहारी नगरपालिकाको व्यवस्थापनमा हुन लागेको शिविर विविध कारणले स्थगित भएको सहायक प्रजिअ पुनले बताउनुभयो ।

चौरजहारी नगरपालिकाले नै जिल्ला प्रशासनलाई एकीकृत घुम्ती शिविर आयोजनाका लागि अनुरोध गरेको थियो । सुरुमा माघ ३० र फागुन १ गते शिविर गर्ने तय भएको थियो । पछि फेरि मिति संसोधन गरेर माघ २९ र ३० गते शिविर गर्ने तयारी थियो । त्यही पनि अन्तिममा आएर स्थगित भएको छ । २९ गते चौरजहारी नगरपालिकाको कार्यालयमा र ३० गते खोलागाउँ स्थित जहारी क्याम्पसमा शिविर गर्ने तयारी थियो ।

शिविरमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला सरकारी वकील कार्यालय, नापी, मालपोत र स्वास्थ्य सेवा कार्यालयले सेवा प्रदान गर्ने गरी तयारी गरेका थिए । यसैगरी तरकारी बीउ उत्पादन केन्द्र, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र डिभिजन वन कार्यालय पनि सबै सेवा लिएर चौरजहारी जाने तयारीमा थिए ।

 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ०५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update