Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १० मा ४ सय क्विन्टल लसुन उत्पादन

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का किसानले यो वर्ष ४ सय क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका विभिन्न टोलका किसानहरुले यो वर्ष ४ सय क्विन्टल लसुन उत्पादन गरेकामा ३ सय क्विन्टल विक्रि गरेका छन् । १ सय २० क्विन्टल वीउ राखेर बाँकी लसुन विक्रि गरेको खड्का टोलका लसुन उत्पादक किसान झुपलाल खड्काले बताउनुभयो । लसुनबाट किसानले राम्रो आम्दानी पनि गरेका छन् । एउटै किसानले कममा १४ देखि बढीमा ३४ क्विन्टलसम्म लसुन विक्रि गरेको वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । 

एउटा किसानले कममा ३ हजार ७ सय ३० रुपैंया देखि बढीमा १ लाख ६१ हजार रुपैंयासम्म आम्दानी गरेको उहाँको भनाई छ । किसानले लसुनमा प्रतिकिलो ८० देखि १ सय १० रुपैंयासम्म पाएको उहाँले बताउनुभयो । अधिकांश लसुन गाउँमै र केही लसुन मुसीकोट खलंगा बजारमा बिक्रि भएको छ । २०७४ तिर झ्याङ गाउँका केही किसानहरुले मात्रै व्यावसायीक रुपमा लसुन खेती गर्ने गरेकामा हाल वडाका गलम्पाटी, खर्सुपानी, चौर र नमुना बस्तीमा व्यवसायीक लसुन खेती हुने गरेको छ ।

स्थानीय तह बनेपछि सरकारको सहयोगमा लसुन खेतीमा वृद्धि भएको वडाध्यक्ष खड्काको भनाई छ ।त्यस्तै आगामी वर्ष वडाले राम्रो उत्पादन गर्ने किसानलाई सम्मान गर्ने भएको छ । लसुन, प्याज, अदुवा, आलु, अलैंची धेरै उत्पादन गर्ने र भैसी तथा बाख्रा धेरै पाल्ने किसानलाई वडा कार्यालयले सम्मान गर्ने कार्यक्रम बनाएको वडाध्यक्ष खड्काले बताउनुभयो । यसबाट किसानलाई प्रोत्साहन हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update