रुकुम पश्चिमका स्थानीय तहमा साढे १० करोडको वेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु १० करोड ५१ लाख २० हजार देखिएको हो । कुल ८ अर्व ३४ करोड ११ लाख ६१ हजार रुपैंयाको लेखापरीक्षण गरिएको थियो ।
कुल लेखापरीक्षण गरिएको रकमको १.२६ प्रतिशत वेरुजु देखिएको हो । जिल्लाका ६ पालिका मध्येमा सबैभन्दा बढी वेरुजु आठबीसकोट नगरपालिका र सबैभन्दा कम मुसीकोट नगरपालिकाको छ । आठबीसकोट नगरपालिकाको वेरुजु रकम ३ करोड ६६ लाख ७८ हजार छ । यो कुल लेखापरीक्षण गरिएको रकमको २.०२ प्रतिशत हो ।
आठबीसकोटमा कुल १ अर्व ८१ करोड ३१ लाख ११ हजारको लेखा परीक्षण गरिएको थियो । जिल्लामा सबैभन्दा बढी लेखापरीक्षण गरिएको रकम पनि आठबीसकोटको हो । मुसीकोटको वेरुजु भने ०.३१ प्रतिशत रहेको छ । कुल १ अर्व ५० करोड २९ लाख २८ हजारको लेखापरीक्षण गरिएकामा वेरुजु ४५ लाख ८४ हजार निस्किएको छ ।
प्रतिवेदन अनसार चौरजहारी नगरपालिकाको वेरुजु ३ करोड १५ लाख १ हजार छ । चौरजहारीमा कुल १ अर्व ७९ करोड ८५ लाख ११ हजारको लेखापरीक्षण गरिएको थियो । लेखापरीक्षण गरिएको रकमको १.७५ प्रतिशत वेरुजु देखिएको हो । तीन गाउँपालिका मध्य कम वेरुजु बाँफिकोट गाउँपालिकाको छ ।
वाँफिकोटमा ०.६८ प्रतिशत वेरुजु छ । कुल ९० करोड ९८ लाख १५ हजारको लेखापरीक्षण भएकामा ६१ लाख ७५ हजार वेरुजु आएको हो । त्रिवेणी गाउँपालिकाको वेरुजु १ करोड ४५ लाख ५३ हजार छ । कुल १ अर्व १७ करोड २१ लाख २८ हजारको लेखापरीक्षण भएकामा १.२४ प्रतिशत वेरुजु आएको हो ।
सानीभेरी गाउँपालिकामा कुल १ अर्व १४ करोड ४६ लाख ६८ हजारको लेखापरीक्षण भएकामा १.०१ प्रतिशत अर्थात १ करोड १६ लाख ११ हजार वेरुजु आएको छ ।
घट्यो वेरुजु
आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा वेरुजु घटेको छ । ०७६/७७ मा जिल्लाका ६ पालिकामा ३० करोड २३ लाख ५५ हजार वेरुजु देखिएको थियो । उक्त वर्ष कुल ७ अर्व ६१ करोड ९३ लाख ७७ हजारको लेखापरीक्षण गरिएको थियो । यो रकम आर्थिक वर्ष २०७७/०७८ मा लेखापरीक्षण गरिएको रकम भन्दा कम हो ।
त्यस वर्ष कुल रकमको ४.५६ प्रतिशत वेरुजु थियो । जिल्लामा वेरुजु १९ करोड ७२ लाख ५३ हजारले कमि आएको हो । सानीभेरी गाउँपालिका बाहेक सबै स्थानीय तहको वेरुजु रकम घटेको छ । सानीभेरी गाउँपालिकाको वेरुजु भने केही वढेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामै सबैभन्दा कम ०.९९ प्रतिशत वेरुजु आएको सानीभेरीमा आर्थिक वर्ष २०७७/०७८ मा त्यो बढेर १.०१ प्रतिशत पुगेको छ ।