Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले थाल्यो सेवाग्राही सन्तुष्टि सर्वेक्षण
चाैरजहारी नगरपालिकाकाे प्रशासनिक भवन ।

रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सेवाग्राही सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था पहिचान गर्न सेवाग्राही सन्तुष्टि सर्वेक्षण सुरु गरिएको हो । कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । यसबाट सेवाग्राही मैत्री कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ । गत बिहीबार १० जनामा गरिएको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा ८४.२२ प्रतिशत अङ्क प्राप्त भएको छ । 

सम्बन्धित विभिन्न छ वटा पक्षमा सर्वेक्षण हुने गरेकोछ । सेवा प्राप्त गर्न सहजीकरण, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको सर्वेक्षण हुने गरेको छ । त्यसैगरी कर्मचारीबाट सेवाका लागि आवश्यक सूचनाको स्पष्ट, सेवा प्रक्रिया र  समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयमा पनि सुझाव लिने गरिएको छ । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि  मौलिक सुझाव पनि दिन सकिने व्यवस्था रहेको छ ।

सेवाग्राहीको सन्तुष्टि मापनबाट पृष्ठपोषण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ । सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्ने छ । प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउन सकिने कार्यालयको विश्वास छ । सेवाग्राहीको सुझावलाई कार्यसम्पादनको मार्गदर्शन बनाइने कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update