Kakhara सबैको खबर सम्पूर्ण खबर
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ

राजनीति सत्तामा पुग्नका लागि गरिने हो । सत्ताको वैधता निर्वाचनले गर्ने हो । लोकतन्त्रमा सत्ताको मूल्यांकन नागरिकले गर्ने हो । बैधताको परिक्षणको नतिजा कामवाट देखिने हो । पुन: सत्तामा पुग्ने नपुग्ने विगतको काममा भर पर्ने हो । नेपालका धेरै सरकारहरु बैशाखी टेकेरै वनेका छन् । मेरो पार्टी ठुलो भनेर क्षणिक अंहमता देखाउन त सकिएला तर सरकार गठनको लागि संसदको अंक गणितले काम गर्ने हो । ज्यामितिय रुपमा भाषण र गफमा पुर्ण वहुमतको नक्सा कोर्न त सकिएला तर त्यो सिसाकलमले कोरेको नक्सा वास्तविक चुनावी ईरेजरले मेटिदिन्छ । विगतमा नेकपा फुटे पश्चात एमाले केन्द्रिय सत्तावाट मात्र होईन । प्रदेश सरकारवाट समेत प्रतिपक्ष वन्नुपर्यो । हुँदा हुँदा आँफैले दुई/दुई पटक विघटन गरेको संसदमा छिर्नुपर्यो । वहिष्कारको नाटक पनि टिक्न सकेन ।

आजका मिति सम्म एमाले अहिलेको गठवन्धन भत्काउन चाहान्छ तर सफलता हात लागेको छैन । उसले कतिपय सत्ता पक्षका नेताहरु माथि अनावश्यक लाल्लछना र आरोप लगाएकै छ तर डेक चलेको छैन । बाम एकता हिजो आवश्यक थियो ।एकता भयो पनि । तर सत्ता स्वार्थ र अंहमताले त्यो टिक्न सकेन । नेकपा फुटाउन अदालत सँग साँठगाँठ गरेको तथ्य जगजायर छ । सत्ता छोड्नु भन्दा संसद विघठन कै वाटो रोजेको गैरसंवैधानिक कार्य लुकेको छैन । सबैधानिक आयोगको नियुक्ति अहिले सम्म विवादित नै छ । सत्ता र सडक दुवै तिर नेकपा कै नेताहरु हुनु परेको अवस्था पनि भएकै हो । प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप भएकै हो ।

विगतको गम्भिर समिक्षा नगरिकन एकताको रटानको कुनै अर्थ छैन । वरु हार भित्रको स्वाभिमान उचित हुन्छ । अंहमता, घमण्डता, रिस र आवेगले भरिएकाहरु सँगको राजनीतिक संगत दिगो हुन सक्दैन । न्यूनतम बाम एकता गरे हुन्छ । तर हिजोको संविधान विरोधि सँग अहिल्यै टाँसिन जरुरी छैन । विचार, सिद्धान्त र मूल्य मान्यता विनाको एकताले परिणाम दिँदैन । समस्या मात्र ल्याउने हो । वरु बामे सर्दै गएको संघीयताको जरो वलियो वनाउन वाम-लोकतान्त्रिक सहकार्य उपयुक्त हुन सक्छ । हिजो राजाको भाषण टाईप गरे भन्नेहरु सँग सजक हुनै पर्छ । कतै फेरी गणतन्त्र भत्काउन पिन भाषण टाईप हुन सक्छ । राप्रपा, सिके राउत लगायत सँग चुनावी एकता गर्नेहरुसँग फेरी टाँसिएर आजै चुनावी एकता गर्न हुँदैन । कम्तिमा चेत खुल्नु पर्छ ।

राजनीतिमा हार जीत चलि नै रहला तर सँस्कार ठुलो कुरा हो । राजनीतिक बेईमानीवाट पाठ सिक्नै पर्छ । हिजो काँग्रेस पनि पहिलो पार्टी भएकै थियो । माओवादी पनि देशको ठुलो पार्टी भएकै हो । ठुलोको अर्थ अमर होईन । जितको अर्थ घमण्डता र अंहमता पनि होईन । जीतवाट मात्तिनेहरुलाई तह लगाउनै पर्छ । यहि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रमा विधि र मान्यताको पूजा गर्ने हो । कानुन र संविधानलाई “बा” मान्ने हो । राष्ट्र र राष्ट्रियता राजनीतिज्ञको लागि “आमा” हुन् । ब्यक्तिको सँस्कार र चामात्कारीक गुणको तारिफ गर्न सकिएला तर लोकतन्त्रमा ब्यक्ति पूजा क्षणिक मनोरोग हो। ब्यक्ति पूजाले राजनेता होईन तानाशाह जन्माउने हो । ब्यक्ति र परिवाद विरुद्धको लडाँई नै गणतन्त्र स्थापनाको जग थियो ।

फेरि पनि हामी बाम एकताको नाममा तानाशाह जन्माउनु हुँदैन । अंहकार र घमण्ड नबगे सम्म फेरी पनि संविधान वग्ने हो । राजनीतिक स्थायीत्वको वाढीले मात्र राजनीतिक अंमहतालाई तह लगाउन सकिन्छ । तसर्थ विगतवाट गहिरो पाठ सिक्न जरुरी छ । एकताको रटान भन्दा पहिला सँस्कार वदल्नै पर्छ । चालचलन वदल्नु पर्छ । जनतामा नै फर्कनु पर्छ । जनताले सिकाँउछन् कस्तो राजनीतिक सँस्कार आवश्यक हो भनेर । सत्तामा टिकिरहन खोज्नेहरुलाई ज्वरो आउनु सामान्य हो । त्यसको उपचार जनताले गर्ने हो । राजनीतिमा धोकाको पनि सिमा हुन्छ । राजनीतिमा स्थायी दुश्मन वा मित्र कोहि नहोला तर निश्चित सम्झौता र साझेदारीको पालना गर्नै पर्छ । भौतिकवादमा अझ वढी नैतिकता चाहिन्छ । असल अभ्यास चाहिन्छ । छलकपट गर्न जरुरी नपर्ने अवस्था सृजना गर्ने हो, नेतृत्वले ।अपमानको सिमा हुन्छ । गाली र तालिको पनि सिमा हुन्छ । भेडाको बथान जस्तो पछाडी कुदिरहने जमातको आशा विस्तारै ब्यर्थ लाग्छ । संख्या मात्र राजनीतिक विजयको मानक होईन ।

नेपालकै राजनीतिमा कम संसद भएका कतिपय दलका नेताहरु उच्च राजनीतिक सँस्कारमा छन् । भोट कम पाउलान तर ति राजनीतिज्ञहरु प्रति अलग्गै सम्मान छ, जनतामा । खादा र मालाले नैतिकता नापिदैन । क्षणिक रुपमा खादा, मालार अविरले “बा” प्रवृत्ति छोपिएला तर त्यो दीगो हुँदैन । दीगो हुन संस्कार हस्तान्तरण गर्ने हो । असल अभ्यास हस्तान्तरण गर्ने हो । अंहमता र स्वार्थको वार्दलीवाट धरातलमा झर्ने हो । बेईमानवाट ईमानमा आउने हो । जालझेल र तिकडमवाट यथार्थतामा आउने हो । राजनीतिक रुपमा प्राप्त कार्यकारी पद अस्थायी हुन् । स्वयं राजनीतिक प्रणालीको जिवन नै अस्थायी छ । विचार र सिद्धान्तको स्थायित्व गराउने हो । शालिकको आशा गर्ने होईन । माला र अविरको आशा गर्ने होईन । आफ्नाहरुका नाममा टावरको आशा गर्ने होईन । वालुवाटार नै खरिद गर्ने संस्कार किमार्थ ठिक होईन । नारायणहिटी र पशुपति धर्मशाला नै वेच्न खोज्ने सँस्कार कदापि उचित होईन ।

राजनीति केवल समाज सेवाको लागि हो । ब्यक्तिको सेवा गर्नका लागि आदेश दिनेहरुसँग चुनावी तालमेल जरुरी छैन । संविधान नै कुल्चनेवाट एकता संरक्षण हुँदैन । संविधान च्यात्नेले पार्टीको विधान च्यात्नु के ठुलो कुरो भयो र ! सत्ता छोड्नु पर्दा कुर्सी नै भाँच्न तम्सनेहरुवाट एकताको डोरी काट्नु के ठुलो कुरो भयो र ! व्यापक छलफल विचार, विमर्श नगरीकन फेरी पनि त्यही प्रवृत्ति र सँस्कार सँग एकता जरुरी छैन । राजनीतिक मोर्चा हार र जितको समग्रता हो । वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ । संविधान र संघीय गणतान्त्रिक लोकतन्त्रको जगेर्नाको लागि उच्च राजनीतिक सँस्कारयुक्त न्यूनतम साझेदारी अरु पक्ष सँग गर्न सकिन्छ तर हिजोको गल्तीको जिम्मेवारी नलिईकन नेकपा सक्नेहरुको पछाडी लाग्न सकिदैन । पहिला गल्तिको जिम्मा लिनुपर्छ । गल्ति र कमजोरी नगर्ने प्रतिवद्धता खुल्ला रुपमा चाहिन्छ । “बा” प्रवृर्ति त्याग गर्ने आँट चाहिन्छ ।

वारम्वार हामी कार्यकर्तालाई पात्लु भेडा वनाउने छुट कसैलाई छैन । हामीले खोजेको “डन” नेतृत्व होईन । हामीले खोजेको सत्ताको भर्याङ्गको मात्र सारथी होईन । सत्तामा पुग्न जे पनि सम्झौता गर्ने र सत्तामा पुगे पछि तानाशाह बन्ने प्रवृत्ति चाहिएन । खोलो तरेर लौरो भाँच्नेहरुलाई फेरी हात दिनु किमार्थ ठिक होईन । एउटा अहम प्रवृत्ति, गलत संस्कार र झुटको पुलिन्दा धरातलमा नआएसम्म बार्दलिवाट उठाउन त्यँही पुग्न जरुरी छैन । बार्दलीवाट वालुवाटार ल्याएर फेरी पनि गल्ति गरिरहने छुट कसैलाई छैन । वरु प्रतिक्षा गरौं एउटा प्रवृतिमा सुधार आओस, चेत खुलोस, संस्कार बदलियोस । सिद्धान्त, मूल्य, मान्यता र सामुहिक नेतृत्व सहितको बाम एकता होस । संस्कार र मान्यता मिल्नेहरुसँग एकताको सुरुवात गर्दा संस्कार र मान्यता मिल्नेहरुलाई धोका दिनु हुँदैन । राजनीतिक यात्रामा ब्यक्तिगत रुपमा ब्रेक लाग्न सक्छ तर राजनीतिक सँस्कार निरन्तर सर्दै जाने अविरल र अविछिन्न सामुहिक यात्रा हो । तसर्थ राजनीति पद मात्र बाँडने साधन होईन, त्यो भन्दा पहिला उच्च राजनीतिक संस्कार र न्यूनतम नैतिकता, मूल्य मान्यताको आधार तयार गर्न जरुरी छ । अन्यथा हर्क साम्पाङ्ग र वालेनहरुको पल्लाभारी पक्कै हुन्छ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update