Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा अब क्यानोनिङ र क्लाइम्बिङ
काँक्रीको गोन्टे छहरामा क्यानोनिङ गरिँदै ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा साहसिक खेलको सम्भावना देखिएको छ । माघ २५, २६ र २७ गते गरिएको अध्ययन र अभ्यासको क्रममा गाउँपालिकाको २ ठाउँमा साहसिक खेल अन्तर्गतका क्यानोनिङ र क्लाइम्बिङको सम्भावना देखिएको छ । युवा विकास केन्द्रको संयोजन तथा कास्की पोखराको फ्रि एडभेन्चर प्रालीको प्राविधिक सहयोग, सक्रियता र अभ्यासमा क्यानोनिङ र क्लाइम्बिङको सम्भावना उजागर भएको हो ।

भूमे गाउँपालिका २, को काँक्री र ३ नम्बर वडाको जितखोलामा क्यानोनिङको सम्भावना उजागर भएको हो । २ नम्बर वडाको गोन्टे छहरा र ३ नम्बर वडाको जितखोला स्थित तुन्वाङ खोलामा क्यानोनिङको अभ्यास सहित सफल परीक्षण गरिएको छ । प्राविधिक टोलीका प्रमुख जगननाथ तिमिल्सिनाले दुवै ठाउँमा क्यानोनिङको सम्भावना रहेको बताउनुभयो । गोन्टे छहरामा जोखिमपूर्ण र साहसिक क्यानोनिङको सम्भाव्यता रहेको उहाँको भनाई छ । तुन्वाङ खोलामा पनि आधारभुतदेखि महत्वपूर्ण क्यानोनिङको सम्भावना रहेको उहाँले बताउनुभयो ।

पोखराबाट आएको टोलीले दुवै ठाउँमा क्यानोनिङ गरेको थियो भने स्थानीयलाई साहसिक खेल, यसबाट पर्यटन क्षेत्रमा पुग्ने योगदानका विषयमा समेत चर्चा गरिएको थियो । भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भएको यो अभ्यास सहितको सर्भेले उत्साहित बनाएको युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकाले बताउनुभयो । युद्ध पर्यटनसँगसँगै साहसिक खेललाई पनि पर्यटनसँग जोडेर लैजाने योजना रहेको उहाँले बताउनुभयो । ‘यहाँ क्यानोनिङ र क्लाइम्बिङको सम्भाव्यता देखियो,’ अध्यक्ष रोकाले भन्नुभयो, ‘अब यसलाई व्यवसायिक रुपमा जोडेर भूमे हुँदै जिल्लाको पर्यटन विकाससँग जोडेर लैजाने गरी योजना बन्छ ।’

क्लाइम्बिङका लागि २ नम्बर वडाको काँक्रीमै सम्भावना देखिएको अध्यक्ष रोकाले बताउनुभयो । ठूला पहर, चट्टानहरु रहेकाले त्यसको सम्भावना देखिएको रोकाले बताउनुभयो । अब यसका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिइने उहाँले बताउनुभयो । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले साहसिक खेलको सम्भावना देखिएकाले व्यवस्थित योजना बनाएर लाग्ने बताउनुभयो । पहिलो पटक गरिएको अध्ययन र अभ्यासको विस्तृत प्रतिवेदन प्राप्त भएपछि गाउँपालिकाले पनि आवश्यक विस्तृत योजना बनाउने र यसलाई व्यवस्थित बनाएर जाने अध्यक्ष बुढाले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update