Kakhara सबैको खबर सम्पूर्ण खबर
४७ लाख वेरुजु असुल्दा पनि मुसीकोटले पुरा गर्न सकेन राजश्वको लक्ष 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा पनि राजश्वको लक्ष पुरा गर्न असफल भएको छ । नगरपालिकाले वितेको वर्ष २ करोड २४ लाख ४५ हजार ८ सय ६३ रुपैंया राजश्व संकलन गरेको छ । नगरपालिकाले राजश्वको लक्ष भने ३ करोडको लिएको थियो । तर लक्षको ७५ प्रतिशत मात्र राजश्व उठेको छ । ४७ लाख वेरुजु असुल गर्दापनि नगरपालिकाले राजश्वको लक्ष पुरा गर्न सकेन् । आर्थिक वर्ष २०७६/०७७ को वेरुजु ४७ लाख ४२ हजार १ सय ५२ रुपैंया संकलन गरिएको नगर राजश्व शाखाले जनाएको छ । नियम विपरित भुक्तानी भएको उक्त रकम कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समिति लगायत संग असुल गरिएको थियो । 

वेरुजु बाहेक नगरपालिकाले घर जग्गा रजिष्ट्रेशनबाट ३८ लाख २६ हजार ३ सय ९३, नदिजन्य पदार्थ विक्रिबाट १८ लाख ८९ हजार ९ सय ४, सम्पती कर १७ लाख १८ हजार ६ सय ७९, घर बहाल कर २१ लाख २४ हजार ४ सय ७९, प्रशासनिक सेवा शुल्क ३२ लाख ४२ हजार २ सय ३१, नक्सा पास दस्तुर १२ लाख ८० हजार ७ सय ५३ र व्यवशाय रजिष्ट्रेशन शुल्क वाफत १८ लाख ७३ हजार ८ सय ५७ रुपैंया राजश्व उठाएको राजश्व शाखा प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३० लाखको लक्ष लिएको छ । नगरपालिकाले वितेका ५ वर्षमा एक वर्ष मात्र राजश्वको लक्ष पुरा गरेको छ । 

नगरपालिकाले राजश्वको लक्ष घटाएर आर्थिक वर्ष २०७७/०७८ मा लक्ष पुरा गरेको हो । १ करोड ५० लाख लक्ष रहेकामा उक्त वर्ष १ करोड ७९ लाख ३९ हजार ७ सय ५३ रुपैंया राजश्व संकलन गरेको थियो । यो वाहेक अन्य वर्ष नगरपालिका राजश्वको लक्षको छेउ पनि पुग्न सकेको छैन् । जनप्रतिनिधि आएको पहिलो वर्ष २०७४/०७५ मा नगरपालिकाले जम्मा ५४ लाख ४५ हजार ९ सय ८५ रुपैंया मात्र राजश्व उठाएको थियो । त्यसको पछिल्लो वर्ष २ करोड २५ लाखको लक्ष लिईएकामा १ करोड ६२ लाख १९ हजार ६ सय ५९ रुपैंया मात्र उठेको थियो । 

त्यसपछिको वर्ष २०७६/०७७ मा पनि नगरपालिकाले अघिल्लो वर्षको लक्ष २ करोड २५ लाखलाई निरन्तरता दियो । उक्त वर्ष नगरपालिकाले लक्ष पुरा गर्नु त परको कुरा राजश्व झन घट्यो । त्यो वर्ष १ करोड १९ लाख ५९ हजार २ सय ४२ रुपैंयामा मात्र राजश्व उठ्यो । राजश्व घट्दै जान थालेपछि आर्थिक वर्ष २०७७/०७८ मा भने नगरपालिकाले राजश्वको लक्ष घटायो । अघिल्लो वर्षको लक्ष २ करोड २५ लाखबाट नगरपालिकाले ह्वात्तै घटाएर लक्षलाई १ करोड ५० लाखमा झार्यो । उक्त वर्ष भने नगरपालिले लक्ष पुरा गर्न सफल भयो । १ करोड ७९ लाख ३९ हजार ७ सय ५३ रुपैंया संकलन गर्दै पहिलो पटक राजश्वको लक्ष पुरा गर्न सफल भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update