सानीभेरी गाउँपालिकाका सबै विद्यालयमा अध्यनरत छात्राहरुले विद्यालयमै सेनेटरी प्याड पाउँने भएका छन् । गाउँपालिकाले महिनावारी हुने सबै छात्राहरुका लागि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गर्न लागेको हो । गाउँपालिकामा ४५ वटा विद्यालयहरु रहेका छन् । यि विद्यालयका करिब २ हजार ५ सय बढी छात्राहरु यो कार्यक्रमबाट लाभान्वित हुँदै छन् । छात्राले आवश्यक परेको खण्डमा विद्यालयमै प्याड पाउँने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपालसिंह बिष्टले जानकारी दिनुभयो ।
अहिले प्याड खरिदका लागि टेण्डर आह्वान गरिएको उहाँले बताउनुभयो । २५ हजार प्याकेट खरिदका लागि टेण्डर आह्वान भएको र तत्कालै प्याड विद्यालयमा पठाउने तयारी भइरहेको उहाँको भनाई छ । महिनावारी हुँदा विद्यालय छाड्नुपर्ने छात्राहरुको समस्यालाई लक्षित गर्दै गाउँपालिकाले विद्यालयमै निःशुल्क प्याड उपलब्ध गराउन लागेको हो । बिद्यालयमै प्याड उपलब्ध भएमा छात्राहरुलाई राहात पुग्ने छ । अहिले छात्राहरु महिनावारी हुँदा विद्यालय नआउँने र आएपनि विचमै छाडेर घर फर्किने समस्या रहेको छ । यसैलाई लक्षित गरेर गाउँ कार्यपालिकाबाट निर्णय गराएर विद्यालयमै निःशुल्क प्याड उपलब्ध गराउने तयारीमा रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्टले बताउनुभयो ।
जिल्लाका स्थानीय तहहरुले महिनावारी उमेर समुहका छात्राहरुलाई लक्षित गरेर विद्यालयमै प्याडको व्यवस्था गरिरहेका छन् । यसअघि नै जिल्लाका केहि स्थानीय तहहरुले विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गरिसकेका छन् । केहि स्थानीय तहले विद्यालयमै प्याड उत्पादनको तालिम समेत विद्यालय र छात्राहरुलाई प्रदान गरेका थिए । अहिले छात्राहरु महिनावारी हुँदा विद्यालय छाड्नु पर्ने बाध्यता अन्त्य भएको स्थानीय तहहरुको दाबि छ । यसबाट शैक्षिक गुणस्तरमा समेत बृद्धि भइरहेको स्थानीय तहहरुको भनाई छ ।