रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भोली फागुन १ गते र फागुन २ गते सार्वजनिक बिदा दिएको हो । आज एक सूचना जारी गर्दै नगरपालिकाले हिजाे बिहिबार भएको ६६ औं नगर कार्यपालिका बैैठकले दुई दिन सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । जनयुद्ध दिवसलाई भब्य रुपमा मनाउनका लागि नगरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाको राजपत्रमा समेत जनयुद्ध दिवसका अवसरमा फागुन १ र २ गते सार्वजनिक बिदा दिने निर्णय उल्लेख रहेको उहाँले बताउनुभयो । जिल्ला सभाले १ दिन फागुन १ गते जिल्लाभरमा सार्वजनिक बिदा दिने निर्णय गरेकामा नगरपालिकामा थप एक दिन सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले यो वर्ष सहिद दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले फागुन १५ गते सहिद दिवसको अवसरमा नगरपालिकामा सार्वजनिक बिदा दिएको नगर प्रमुख शर्माले बताउनुभयो । सहिदहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्पूर्ण सहिदहरुको सम्झनामा फागुन १५ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको उहाँको भनाई छ । जिल्ला सभाले भने भोली फागुन १ गते मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।