Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेमा नयाँ प्रयाेग पूर्वाधार एम्बुलेन्स सञ्चालनमा

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वर्षा याममा हुने सानातिना बाढी, पहिरोको समस्या तत्काल हल गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवामार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । पूर्वाधार एम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ ।

अध्यक्ष रेग्मीका अनुसार एक जना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक/एक जना चालक र अन्य तीन जना कामदार खटाइएको छ । यो टीमले गाउँपालिकाभित्रको जुनसुकै ठाउँमा बाढी/पहिरो जाँदा र कोही कसैको घरमा क्षती भयो भने तत्काल सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा क्षेतीको विवरण संकलन गर्ने छ भने सडक पुगेको जुनसुकै ठाउँमा पनि पहिरो झरेर यातायात सेवा अवरुद्ध भएको खण्डमा तत्काल यातायात सेवा सुचारु गर्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । 

गाउँपालिका भित्र हुने सानातीना सबै खाले विपदका घटनाहरुमा सहयोगको लागि यही एम्बुलेन्स समूहको टोली सहयोग गर्न पुग्ने गाउँपालिकाले जनाएको छ । ठूलै घटना भएको खण्डमा भने गाउँपालिकाको अन्य टिम सहित जिल्लाको टोली पनि खटिने छ । बर्खाको समयलाई मध्यनजर गर्दै साउन भदौ महिनाको लागि यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रभावकारी हुँदै गएमा सेवा अवधी थप गर्ने पनि गाउँपालिका उपाध्यक्ष रेउलेले बताउनुभएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update