रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सहिद स्मृति स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु भएको छ । सोमबार विधिवत रुपमा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु भएका हुन् । गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, उपाध्यक्ष भूपेन्द्रा बुढा मगर लगायतले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
स्वास्थ्य सबैको सहज पहुँच बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु गरिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष घर्तीले सबैले सजिलै स्वास्थ्य सम्बन्धिको जानारी लि पाउन्, औषधोपचार र परामर्श सजिलै पाउन् भनेर कार्यक्रम सुरु गरिएको बताउनुभयो । कार्यक्रमले सकेसम्म धेरैमा स्वास्थ्य सहजता हुने विश्वास लिइएको अध्यक्ष घर्तीले बताउनुभयो ।
अध्यक्ष स्वास्थ्य कार्यक्रम
यस कार्यक्रम अन्तर्गत तीन वटा कार्यक्रम सञ्चालन हुनेछन् । घरैमा स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम र टेलिमेडिसिन एक कलमा डाक्टर कार्यक्रम समावेश गरिएको छ । यस अन्तर्गत विरामी भएका घरघरमा स्वास्थ्यकर्मी पुग्ने, चेकजा“च गर्ने, परामर्श, औषधोउपचार गर्नेछन् । विरामीको अवस्था हेरेर सम्बन्धित वडाको स्वास्थ्यकर्मी र डाक्टर समेतको व्यवस्था गर्ने जनाइएको छ । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम यो कार्यक्रम अन्तर्गत अति विपन्न, गरीब र जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । टेलिमेडिसिन एक कलमा डाक्टर यो कार्यक्रममा विरामीले डाक्टरलाई फोन गरेर समस्या राख्नेछन् ।
यो समस्या समाधानका लागि गाउँपालिकाले डाक्टर मिलन मल्ललाई खटाएको छ । तकसेरामा रहेको कल सेन्टरबाट धेरै भन्दा धेरै विरामीको उपचार गर्ने र गर्नुपर्नेलाई सम्बन्धित ठाउँमा उपचारका लागि रिफरको व्यवस्थापन गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिनुभयो ।
उपाध्यक्ष स्वास्थ्य कार्यक्रम
यस अन्तर्गत विभिन्न ४ वटा कार्यक्रम समावेश छन् । गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, गर्भवती महिला तथा स्वास्थ्य संस्थामा जन्मेका छोरीको निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा र चेलिसँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको छ । यो कार्यक्रम अन्तर्गत उपाध्यक्षले गर्भतीसँग छलफल गर्ने, स्वास्थ्य अवस्थाबारे जानकारी लिने स्वास्थ्यकर्मीसँगै लैजाने गरिने छ ।
गर्भवती महिला र स्वास्थ्य संस्थामा जन्मेका छोरीको निःशुल्क स्वास्थ्य बीमा गाउँपालिकाले गरिदिने छ । उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत यो कार्यक्रम राखिएको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढा मगरले बताउनुभयो । उहाँका अनुसार गर्भवती, सुत्केरी तथा जेष्ठ, गरीब र विपन्न महिलालाई निःशुल्क एम्बुलेन्स पनि यही कार्यक्रम मार्फत प्रदान गरिनेछ । यो कार्यक्रम पनि उपाध्यक्ष स्वास्थ्य कार्यक्रममा समावेश गरिएको छ ।
महिलाका समस्या बुझ्ने, छलफल गर्ने लगायतका कामका लागि चेलीसँग उपाध्यक्ष कार्यक्रम तय गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो । चालु आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेटमा यो कार्यक्रम समावेश गरिएको छ । गाउँपालिकाले यी सबै कार्यक्रमको लागि ३० लाख बजेट विनियोजन गरेको छ ।