रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को निपानेमा साउन ६ गते शुक्रबार साँझ भेटिएको शव महिलाको अँझै पहिचान हुन सकेको छैन । ३५/४० वर्षिया महिलाको शव भेटिएको ५ दिन पुग्दा पनि पहिचान हुन नसकेको हो ।
मृतक महिलाको शव जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। अनुसन्धान भइरहेपनि शव सडेको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिब श्रेष्ठले बताउनुभयो ।
पहिचान गर्न सक्ने व्यक्तिले सनाखतको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सम्पर्क गर्न पनि अनुरोध गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । ती महिलाको शव फेला पारेपछि स्थानीयले ६ गते नै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि महिलाको शव भएको स्थानमा प्रहरी पुगेको थियो । उक्त स्थानमा प्रहरीले महिलाको टाउकाको भाग सडेर अलग भएको अवस्था फेला पारेको थियो ।