Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यार्थी बिरामी हुँदा शिक्षकले बोकेर पुर्याउछन अस्पताल 
बिरामी बिद्यार्थीलाई स्ट्रेचरमा राखेर अस्पताल लगिदै ।

रुकुम  पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बाँठाकोटमा उपचारको लागि स्वास्थ्य संस्था नहुँदा स्थानीयहरुलाई  समस्या भएको छ । त्यहाँका स्थानीयहरु सामान्य उपचारका लागि करिब डेढ घण्टा लामो बाटो हिडेर स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै बाँठाकोटमा रहेको भिम कल्याण आधारभुत विद्यालयका विद्यार्थी र शिक्षकलाई पनि नजिकमा स्वास्थ्य संस्था नहुँदा समस्या भएकाे प्रधानाध्यापक यज्ञबहादुर ओलीले बताउनुभयो ।

उहाँका अनुसार शैक्षिक सत्र सुरु भएदेखि ७ जना विद्यार्थी बिरामी हुँदा शिक्षक कर्मचारीले नै स्टेचरमा बोकेर स्वास्थ्य संस्थामा पुर्याई उपचार भएको छ । विद्यालयका बालबालिका बिरामी हुँदा होस वा समुदायका कोही बिरामी हुँदा होस त्यहाँका स्थानीयले स्ट्रेचरकाे सहायतामा डेढ घण्टा लामो पैदल हिडेर झुल्नेटाका नीजि मेडिकलमा पुर्याउने गरेका छन् । कि त वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकी पुर्याएपछी उपचार सेवा पाइने प्रअ ओलीकाे भनाइ छ ।

मंगलबार पनि एक छात्रा बिरामी भइ बेहोस भएपछि उपचारको लागि शिक्षकहरुले नै स्ट्रेचरमा बोकेर झुल्नेटा मेडिकल पुर्याएको शिक्षक शुशिल पुनले बताउनुभयो । विद्यालय चलिरहेको बेला विरामी विद्यार्थी लिएर मेडिकल जान्छौं, यसले पठनपाठनमा समेत प्रभाव परिरहेको छ, उहाँले भन्नुभयाे । वडा सदस्य इन्द्रबहादुर ओलीले सडक यातायातको हिसाबले झुल्नेटा-चौरजहारी ग्रामिण कृषि सडकले वडा नम्बर ६ लाई जोडे पनि बाँठाकोटमा भने सडकको समस्या रहेकाे बताउनुभयाे ।

स्थानीयहरुको माग अनुसार बाँठाकोटमै आधाभुत स्वास्थ्य इकाई स्थापना गर्न र वडा कार्यालयसम्म सडक बाटो जोड्ने याेजना माग गरेर पठाइएकाे उहाँले बताउनुभयाे । यो माग सम्बोधन हुने वडासदस्य ओलीकाे विश्वास छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update