रुकुम पश्चिमबाट एक वर्षमा झण्डै ४६ हजार किलो जडीबुटी जिल्ला बाहिर निकासी गरिएको छ । वितेको आर्थिक वर्ष २०७८/०७९ जिल्लाबाट विभिन्न २६ प्रजातीका जडीबुटी निकासी भएको हो । १ वर्षमा ४५ हजार ९ सय १२ केजी जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लाभरमा विभिन्न २८ प्रजातीका ५७ हजार ६ सय ७२ केजी जडीवुटी संकलन भएपनि असार मसान्त सम्ममा ४५ हजार ९ सय १२ केजीको छुटपुर्जी काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जिवराज महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार संकलन भएको मध्य ११ हजार ७ सय ६० केजी जडीबुटी भने जिल्लामै रहको छ । जिल्लामा सेतक चिनी, सोमलता, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, पावन बोक्रा, पाखनबेल, रिठा, टिमुर, भिर मह, चिराईतो, लहरे गुर्जो, कराज चुल्ठे, कुरिलो, कुट्की, कालो मुस्ली, कालादाना, तेजपात, विषफेज लगायतका जडीबुटी पाईने गरेका छन् । जडीबुटीबाट डिभिजन वन कार्यालयले वर्षभरीमा ४ लाख ५६ हजार २ सय ६२ रुपैंया राजश्व संकलन गरेको छ ।
जिल्लाबाट बाँकेको नेपालगञ्ज र काठमाडौं लगायतका जिल्लामा जडीबुटी निकासी हुने गरेको सूचना अधिकारी महतले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा विभिन्न प्रकारका जडीबुटी पाईने गरेका छन् । सबै भन्दा बढी जडीबुटी भने आठबीसकोट नगरपालिकाबाट संकलन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाबाट जडीबुटी निकासी बढेकाे छ । आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाबाट ४४ हजार ५ सय ८२ केसी जडीबुटी जिल्ला बाहिर निकासी भएको थियो ।