रुकुम पश्चिमका २१ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३.६ भन्दा बढी जीपीए ल्याएका छन् । तर ४ जीपीए भने कुनैपनि विद्यार्थीले ल्याउन सकेनन् । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका अनुसार साधारण र प्राविधिक धार तर्फ गरी २१ जना विद्यार्थीले ३.६ जीपीए देखि ४ भन्दा मुनीको जीपीए ल्याएका हुन् ।
जसमा १२ जना साधारण तर्फका विद्यार्थी छन् भने ९ जना विद्यार्थी प्राविधिक धार तर्फका विद्यार्थी रहेको इकाईका प्राविधिक सहायक डायमण्ड पुनले जानकारी दिनुभयो । जिल्लाको शितल मावि चौरजहारीमा प्राविधिक धार तर्फको पढाई भइरहेको छ । जिल्लामा कुल ४ हजार १ सय ९९ जनाले परीक्षाका लागि आवेदन दिएकामा १ सय ८० जना परीक्षामा अनुपस्थित भएका थिए ।
जिल्लामा सबैभन्दा बढी १ हजार ३ सय ५१ जना विद्यार्थीले २.४ देखि २.८ जीपीए ल्याएको प्राविधिक सहायक पुनले बताउनुभयो । त्यस्तै १ हजार ३ सय ३ जनाले २.० देखि २.४ जीपीए ल्याएका छन् । पुनका अनुसार ३.२ देखि ३.६ जीपीए १ सय ४४ जनाले, २.८ देखि ३.२ जीपीए ६ सय ७२ जनाले, १.६ देखि २.० जीपीए ४ सय ४४ जनाले, १.२ देखि २ जीपीए ४० जनाले र ०.८ जीपीए देखि १.२ जीपीए २ जना विद्यार्थीले ल्याएका छन् ।
सामान्य तर्फ ३ हजार ९ सय ७१ जना परीक्षार्थी सहभागी हुँदा प्राविधिक धार तर्फ ४८ जना परीक्षार्थीले परीक्षा दिएका थिए । कोरोना महामारीका कारण २ वर्ष विद्यालयको आन्तरिक मुल्यांकनका आधारमा विद्यार्थीलाई जीपीए दिईएको थियो । यो पटक भने विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भएर परीक्षा दिएका थिए ।