Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू ताल नजिकको सामुदायिक वनमा वृक्षारोपण 
वृक्षाराेपणमा सहभागीहरू ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ को तामाखानी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रम अनुसार स्यार्पूतालको छेउमा रहेको सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । ब्लक वृक्षारोपण कार्यक्रम अन्तरगत ५ हेक्टर बढी क्षेत्रफलमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । वृक्षारोपणमा १५ लाख बजेट खर्च भएको छ । सव डिभिजन वन कार्यालय बाँफिकोटका प्राविधिकको निगरानीमा वृक्षारोपण गरिएको हो । 

विभिन्न प्रजातीका ५ हजार ५ सय ६८ वटा विरुवा रोपिएको सव डिभिजन वन कार्यालय बाँफिकोटका फरेस्टर जयपृथ्वीराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार तेजपातका २ हजार २ सय, टिमुरका २ हजार, अमलाका १ सय ५० र अम्रिसोका ७ सय वटा विरुवा रोपिएको छ । त्यस्तै बकाइनोका ६५ वटा, टुनीका २० वटा, अम्बाका ५२ वटा, बाँसका १ सय ७० वटा र मलायगेडीका २ सय ११ वटा विरुवा रोपिएको बुढाथोकीले बताउनुभयो । कुल ५.०९१ हेक्टर क्षेत्रफलमा विरुवा रोपिएको उहाँको भनाई छ ।

वनमा रहेको झाडिलाई सफा गरेर विरुवा रोपिएको हो । साथै वृक्षारोपण गरिएको क्षेत्रलाई तारबार गरिएको छ । सुख्खा समयमा सिँचाईका लागि पानीको समेत व्यवस्था गरिएको बताईएको छ । झाडिले ढाकेको वनमा बहुउपयोगी वन पैवारका विरुवाहरु रोपेर वन क्षेत्रलाई उत्पादनमुखी बनाउने उदेश्यले वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । यसबाट स्यार्पूतालको संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । 

सव डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update