Kakhara सबैको खबर सम्पूर्ण खबर
पार्वतीले बाटोमै छोरा जन्माईन

रुकुम पश्चिमकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ चौरकी २२ वर्षिया पार्वती विकले श्रावण ९ गते बिहान चौरजहारी नगरपालिका ३ दमार भन्ने ठाउँमा बाटो मै छोरालाई जन्म दिनुभएको हो । विकलाई आठबीसकोट नगर अस्पतालबाट चौरजहारी अस्पताल रिफर गरिएको थियो । अस्पताल लैजादै गर्दा बिकले बाटोमै पहिलो सन्तानका रुपमा छोरा जन्माउनुभएको हो । आठबीकोटको राडीमा रहेको नगर अस्पतालबाट जाजरकोटको मटेलासम्म गाडीमा ल्याई मटेलास्थित भेरी नदीमा रहेको झोलेंगु पुल तारेर चौरजहारी ल्याउने क्रममा पुल नजिकैको सालघारीमा बच्चा जन्मिएको पार्वतीका श्रीमान सुनिल बिकले बताउनुभयो ।

मटेलाकी एक स्वास्थ्यकर्मीले सुत्केरी बनाएको उहाँको भनाई छ । मटेलामा मोटरेवल पुल नहुँदा गाडीमा वारपार गर्ने अवस्था छैन् । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाटोमै बच्चा जन्मिएपछि आमा र बच्चालाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । त्यहाँ तीन दिन बसेपछि आफुहरु घर फर्किएको सुनिलले बताउनुभयो । 

सुत्केरी व्यथा लागेपछि बिकलाई श्रावण ८ गते बिहान ६ बजे आठबीसकोट नगर अस्पताल लगिएको थियो । तर २२ घण्टासम्म पनि बच्चा नजन्मिएपछि बिकलाई श्रावण ९ गते बिहान ४ बजे चौरजहारी अस्पताल रिफर गरिएको थियो । सामान्य भन्दा लामो समय व्यथा लागेपछि बिकलाई चौरजहारी पठाईएको आठबीसकोट नगर अस्पतालकी अनमी प्रतिभा घर्तीले जानकारी दिनुभयो । बच्चालाई भ्याकुमले तान्नुपर्ने अवस्था आएको र नगर अस्पतालमा भ्याकुम नभएपछि आफुले चौरजहारी जान भनेको उहाँको भनाई छ । 

यसैविच अहिले सामाजिक सञ्चालमा एम्बुलेन्सको अभावमा बाटोमै सुत्केरी भएको भन्दै आलोचना भइरहेको छ । तर पार्वतीका श्रीमान सुनिलले भने त्यसमा सत्यता नभएको बताउनुभयो । ‘हामीलाई नगर अस्पतालले एम्बुलेन्समा जान भनेको थियो, उहाँले भन्नुभयो तर भाइको गाडी भएकोले सजिलोका लागि हामी गाडीमा आएका हौं ।’ यस बारेमा आफुलाई कसैले केही नसोधेको र फोटोको आधारमा विभिन्न अड्कलबाजी काट्ने काम भएको उहाँले बताउनुभयो । सत्यता नबुझि अनावश्यक हल्ला नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update