Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटको केन्द्रमा मनपरी पार्किङ
आठबीसकोट नगरपालिकाको ११ नम्बर वडा सिमबजारमा जथाभावी गरिएको पार्किङ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको केन्द्रमा जथाभावी पार्किङले दुर्घटनाको जोखिम बढाएको छ । नगरपालिकाको केन्द्र रहेको राडी बजार तथा सिमबजारमा मनपरी पार्किङ गर्ने गरिएको छ । मोटरसाइकल, जिप, बस, मालबाहक गाडीहरु जथाभावी पार्किङ गरेका कारण दुर्घटनाको जोखिम बढेको हो ।

बजार र सडकमै पार्किङ गरिएकाले सञ्चालनमा रहेका सवारी तथा पैदल यात्रुलाई समस्या भइरहेको एक स्थानीय नलबहादुर विकले बताए । बस पार्क हुँदा हुँदै मनपरी पार्किङ गर्दा समस्या भइरहेको उनको भनाई छ । ९ नम्बर वडाको पूरानो नर्सरी रहेको ठाउँमा बसपार्क बनाइएको छ । यहाँ पार्किङका लागि कोही पुगिरहेका हुन्नन् ।

११ नम्बर वडाको सिमबजारमा पनि मनपरी पार्किङ भइरहेको छ । गिँजागाड खोलामा पुल बनेतापनि सवारीहरु बसपार्क नलगि सिम बजारमै पार्किङ गरिएको छ । यसतर्फ प्रहरी, नगर प्रहरी कसैले पनि वास्ता नगरेको गुनासो छ । नेपाल प्रहरीले पनि यसतर्फ ध्यान दिएको छैन भने नगरपालिका र नगर प्रहरीले पनि सवारी व्यवस्थित गर्नमा ध्यान लाएको छैन । 
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update