सिस्ने गाउँपालिकाले विद्यालय अनुगमन थालेको छ । शिक्षाको गुणस्तर, भौतिक र वाातारणिय अवस्थाबारे जानकारी लिने उद्देश्यले गाउँपालिका विद्यालय अनुगमनमा लागेको हो । ६ नम्बर वडाबाट थालिएको अनुगमन निरन्तर चल्न शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढाले जानकारी दिनुभयो । गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी नेतृत्वको टोली विद्यालय अनुगमनका निस्केको हो ।
आज दोस्रो दिन ३ नम्बर वडाका विद्यालय अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष रेग्मी, उपाध्यक्ष गोपाल रेउले, ३ नम्बर वडाध्यक्ष हेराम खड्का, शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नरेन्द्र ओली लगायतको टोलीले ३ नम्बर वडाका २ विद्यालयको अनुगमन गरेको हो । सौजन्य आधारभुत विद्यालय पाङा र जनता माध्यामिक विद्यालय पोखराको अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यालयको समग्र अवस्थाबारे जानकारी लिइएको छ ।
भौतिक अवस्था, विद्यार्थी संख्या, विद्यालयका समस्याका बारेमा अनुगमन टोली जानकारी लिएको छ । सौजन्य आधारभुत विद्यालयका प्रध्यानाध्यापक गणेशबहादुर खड्काले विद्यालयका समग्र समस्याका बारेमा जानकारी गराउनु भएको छ । तत्कालिन र दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने समस्या र त्यसको उपायबारे पनि उहाँले बताउनुभएको छ ।
जनता मावि पोखराले पनि विद्यालयको समग्र समस्याबारे जानकारी गराएको छ । विद्यालयले गाउँपालिकाकाे अनुगमन टाेलिसित विद्यालयका भाैतिक, शैक्षिक, र अरु अवस्थाको बारेमा जानकारी गराएकाे हाे । पछिल्लो पटक पहिरोका कारण पनि विद्यालयमा त्रासमा परेकोले यसतर्फ पनि गाउँपालिकाको ध्यानाकर्षण गराइएकाे छ ।
गाउँ शिक्षा समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष रेग्मीले समग्र शिक्षा सुधारको पहल थालिएको बताउनुभयो । स्थलगत अनुगमन, अवलोकन गरेर अवस्था हेर्ने, समस्या सुन्ने, समस्या देख्ने र समाधानका लागि पहल गर्ने अध्यक्ष रेग्मीको भनाई छ । शैक्षिक गुणस्तर खस्किएको, भौतिक समस्या, तहगत र विषयगत शिक्षकको कमी, पठन पाठनका लागि आवश्यक सामग्री, खेलकुद सामग्री लगायतमा समस्या देखिएको पनि अध्यक्ष रेग्मीले बताउनुभयो । शैक्षिक अवस्था खस्कदै गएको पाइएको र त्यसलाई बढाउने उपायका बारेमा पनि अब गाउँपालिका थप मेहनत गरेर र योजना बनाएर अघि जाने अध्यक्ष रेग्मीले बताउनुभयो ।