रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, पिपल जिपुमा आयोजित महिला, पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता अन्तरगत महिला तर्फ सोही ठाउँको कल्पना दाहाल र रिता खत्रीको जोडि पहिलो भएको छ । आज भएको फाईनलमा सोही ठाउँको रमा मल्ल र ममता पौडेलको जोडिलाई २–० को सोझो सेटमा पराजित गर्दै कल्पना र रिताको जोडि पहिलो भएको हो । कल्पना र रिताको जोडीले दिपा खत्री र सिर्जना केसीको जोडीलाई र रमा र ममताको जोडीले जुना बिक र भिमकुमारी मल्लको जोडीलाई हराउँदै फाईनल प्रवेश गरेका थिए ।
फाईनलमा पराजित रमा र ममताको जोडि दोस्रो हुँदा सेमिफाईनलमा पराजित जुना र भिमकुमारी तथा दिपा र सृजनाको जोडिले शान्त्वना स्थानमा चित्त बुझाएको छ । महिला तर्फ ७ वटा जोडिले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम हुने जोडीले नगद १३ हजार ३ सय ३३ को साथमा कप, मेडल र प्रमाण पत्र पाएको छ । दोस्रो हुने जोडीले नगद १० हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दा शान्त्वना हुने जोडिले समान नगद ३ हजार ३ सयको साथमा मेडल र प्रमाण पाएको आयोजक स्यार्पू खेलकुद विकास समितिले जनाएको छ । बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा ‘जनयुद्ध’ दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । पुरुष ब्याडमिन्टन सहित महिला, पुरुष भलिबल प्रतियोगिता जारी छन् ।