रुकुम पश्चिममा १ वर्षमा १० हजार बढीले आँखा उपचार सेवा लिएका छन् । वितेको आर्थिक वर्षमा आँखा उपचार केन्द्र सल्ले तथा विभिन्न ठाउँमा संचालन गरिएका शिविर र विद्यालयमै दिईएको सेवाबाट १ वर्षमा १० हजार १ सय ५९ जनाले सेवा लिएका हुन् । आँखा उपचार केन्द्र सल्लेबाट ५ हजार ९ सय ५४ जनाले सेवा लिएका छन् । जसमा २ हजार ५ सय ६५ जनाले चस्मा लगाउनु पर्ने वा नपर्ने भन्ने बारेमा जाँच गराएको आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्य ८ सय ६० जनालाई चस्मा सिफारिस गरिएको थियो ।
त्यस्तै १ वर्षको अवधिमा जिल्लाका विभिन्न ठाउँमा संचालन गरिएका शिविर मार्फत १ हजार ९ सय ७३ जनाले सेवा लिएका छन् । जसमा ३ सय ५९ जनाको आँखाको निःशुल्क अप्रेशन गरिएको प्रमुख केसीले बताउनुभयो । मोतिया विन्दुको समस्यामा भएका बिरामीको आँखाको अप्रेशन गरिएको उहाँको भनाई छ । ३२ जना विरामीको भने सामान्य अप्रेशन गरिएको थियो । आँखामा मासु पलाएको तथा आन्नो उठेको अप्रेशन गरिएको बताईएको छ । साथै वितेको वर्ष जिल्लाका विभिन्न १० वटा विद्यालयमा आँखा जाँच कार्यक्रम संचालन गरिएको थियो । जसबाट २ हजार २ सय ३२ जना विद्यार्थीहरुले सेवा लिएका थिए ।
यसका साथै एक वर्षको अवधिमा आँखा उपचार केन्द्रबाट ५ सय ६२ जनाले कानको उपचार सेवा लिएका छन् । २०६८ सालमा स्थापना भएको आँखा उपचार केन्द्रमा आँखा तथा कानको जाँच, उपचार र सामान्य अप्रेशन हुँदै आएको छ । यसको अलावा आँखा उपचार केन्द्रको व्यवस्थापन, स्थानीय तहको सहयोग तथा समन्वय र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच र अप्रेशन शिविर संचालन गरिदैँ आएको छ । यसबाट मुख्य गरी मोतियाविन्दुको समस्या भएका जेष्ठ नागरिकहरुले सेवा लिईरहेको आँखा उपचार केन्द्रका प्रमुख केसीले बताउनुभयो ।
यसैविच अव जिल्लामै आँखाको अप्रेशन सेवा सुरु हुने भएको छ । यसका लागि आवश्यक सामग्रिहरु आईसकेको मंसिर देखि जिल्लामै अप्रेशन सेवा सुरु हुन लागेको केसीको भनाई छ । अहिले डाक्टर र उपकरण दाङबाट ल्याएर अप्रेशन सेवा दिने गरिएको छ । जिल्लामै अप्रेशन सेवा सुरु भएपछि भने डाक्टर मात्र आए पुग्ने भएको छ ।