रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८ सय ७९ वेरोजगार युवाहरुले रोजगार पाएका छन । गएको आर्थिक वर्ष २०७८/०७९ मा प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यक्रम अन्तर्गतका विभिन्न आयोजनाहरुबाट ८ सय ७९ बेरोजगार युवाहरुले रोजगार पाएका हुन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विभिन्न ५९ आयोजनाबाट ६ सय जना र मुख्यमन्त्री रोजगार कार्यक्रमका १९ आयोजनाबाट २ सय ७९ जना बेरोजगार युवाहरुले रोजगार पाएको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रत्येक बेरोजगार युवाहरुले ९५ दिन काम पाएको रोजगार प्राबिधिक सहायक प्रविन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रममा काम गर्ने वेरोजगार युवाहरूले ६६ दिन काम पाएका हुन । काम गरेको ज्याला पनि फरक फरक पाएका छन ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने युवाले ५ सय ७७ रुपैयाका दरले ज्याल्ला पाएका हुन् भने मुख्यमन्त्री रोजगार कार्यक्रममा काम गर्ने बेरोजगार युवाहरूले ७ सय २० रुपैयाँका दरले ज्याला पाएका हुन । प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सन्चालन भएका विभिन्न ७८ आयोजनाहरुमा ५ करोड ८४ लाख ९९ हजार १ सय ६८ रकम बजेट खर्च भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको नगरपालिकाको वडा नम्बर ५ छहरेमा निर्माण गरिएको १० लाख बजेटको पदमार्गको कामको क्यवान्टिटी नपुगेपछी भुक्तानी रोकिएको रोजगार प्राविधिक सहायक थापाले जानकारी दिनुभयो ।