रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ ले वाल शिक्षा र कक्षा १ का विद्यार्थीहरुका लागि दुध खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । चालु आर्थिक वर्षको वाल पोषण कार्यक्रम अन्तरगत वडामा रहेका ३ वटा विद्यालयका ६६ जना विद्यार्थीका लागि यो कार्यक्रम संचालनमा आएको हो ।
यो कार्यक्रम अन्तरगत बाल शिक्षा र कक्षा १ मा अध्यनरत सबै विद्यार्थीहरुलाई दैनिक १ गिलास दुधको व्यवस्था गरिने मुसीकोट ६ का कार्यबहाक वडा अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि वडाले १ लाख ४० हजार बजेटको व्यवस्था गरको छ ।
वडाका समाजकल्याण आधारभूत विद्यालय मेलचौर, जनचेतना आधारभूत विद्यालय कालिमाटी र बालकल्याण मावि झुल्खेतमा यो कार्यक्रम लागु भएको उहाँको भनाई छ । यो कार्यक्रमबाट विपन्न परिवारका बालबालिकाको पोषण स्थितिमा सुधार आउने अपेक्षा गरिएको बुढाले बताउनुभयो ।
पोषण स्थितिमा सुधार भए वालवालिकाको सर्वांगिण बृद्धि विकास हुने भएकोले दुधमा जोड दिईएको उहाँले बताउनुभयो । विद्यालयमै दुध खान पाईने भएपछि विद्यार्थी संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । यो कार्यक्रमबाट स्थानीय किसानले उत्पादन गरेको दुधले बजार पनि पाउने बताईएको छ ।
यस कार्यक्रम अन्तरगत आज समाजकल्याण आधारभूत विद्यालय मेलचौरमा १९ वटा गिलास तथा एउटा भलिबल, एउटा फुटबल र २ वटा पम्प सहितका खेलकुद सामग्रि वितरण गरिएको छ । त्यस्तै आईतबार जनचेतना आधारभूत विद्यालय कालिमाटी र बालकल्याण मावि झुल्खेतमा यि सामग्रि वितरण गरिने कार्यबहाक वडाध्यक्ष बुढाको भनाई छ ।