स्थापनाको सुरुवात देखि नै लक्ष अनुसार राजस्व उठाउन सफल रुकुम पश्चिमको आठबीसकोट नगरपालिका पहिलो पटक असफल भएको छ । लगातार राजस्वको लक्ष पुरा गरेर लक्ष बढाउँदै लगेको नगरपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा लक्ष भेट्टाउन नसकेको हो । नगरपालिकाले उक्त वर्ष ३ करोड ८५ लाख राजस्व उठाउने लक्ष लिएको थियो । तर नगरपालिकाले झण्डै ३ करोड राजस्व उठाउन सक्यो । वितेको वर्ष २ करोड ९७ लाख राजस्व उठेको नगरपालिकाको राजस्व शाखा प्रमुख जयबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले सरकारी सम्पत्तिको बहालबाट २९ लाख ६८ हजार १ सय ६४ रुपैंया उठाएको छ ।
त्यस्तै घरजग्गा रजिष्ट्रेशनबाट २६ लाख ७२ हजार ८ सय ९५, अन्य कर १९ लाख ९२ हजार ५ सय ४७, भूमी तथा मालमोत कर १७ लाख ५ सय ३, घर बहाल कर १६ लाख ७५ हजार ७ सय ५६, ढुंगा, गिट्टी, बालुवा र माटोबाट १३ लाख ८६ हजार ८ सय ३५ र शिक्षा क्षेत्रको आम्दानी १० लाख ३४ हजार १ सय रुपैंया रहेकाे राजस्व शाखा प्रमुख बुढाको भनाई छ । बाँकी कर अन्य शिर्षकमा उठेको उहाँले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी राजस्व उठाउने पालिका आठबीसकोट नगरपालिका हो ।
सुरुको वर्ष २०७४/०७५ देखि नै नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहको तुलनामा बढी राजस्व उठाउँदै आएको छ । लक्ष समेत बढाउँदै वर्षेनी राजस्व संकलन बृद्धि गर्दै गएको आठबीसकोटले वितेको वर्ष भने कन्टेन्जेन्सी वाफतको रकम राजस्वका रुपमा राख्न नपाउँदा लक्ष पुरा हुन नसकेको बताएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले कन्टेन्जेन्सी वाफतको रकम राजस्वका रुपमा राखेको भए लक्ष पुरा हुने बताउनुभयो । तर उक्त रकमलाई राजस्वमा राख्न नमिल्ने भनिएपछि पहिलो पटक राजस्वको लक्ष पुरा हुन नसकेको उहाँले बताउनुभयो ।
नगरपालिकाले लगातार ४ वर्ष राजस्वको लक्ष पुरा गरेको थियो । जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्ष आ.व. २०७४/०७५ मा नगरपालिकाले १ करोड राजस्व उठाउने लक्ष लिएको थियो । जुन वर्ष नगरपालिकाले १ करोड ५ लाख रुपैंया उठाएको थियो । दोस्रो वर्ष आ.व. २०७५/०७६ मा नगरपालिकाले राजस्वको लक्ष ५० लाख बढाएर १ करोड ५० लाख पुर्याएको थियो । उक्त वर्ष पनि नगरपालिकाले लक्ष भन्दा बढी २ करोड १५ लाख राजस्व उठाएको थियो । त्यसपछि नगरपालिकाले राजस्वको लक्ष दोब्बरले बढायो ।
३ करोड ५० लाख राजस्वको लक्ष राखिएको आ.व. २०७६/०७७ मा ३ करोड ६८ लाख राजस्व उठेको थियो । त्यसपछि नगरपालिकाले आ.व २०७७/०७८ मा ३ करोड ५० लाखको लक्ष लिएकोमा ३ करोड ५६ लाख राजस्व उठाएको थियो । नगरपालिकाले चालु वर्षमा पनि ३ कराेड ८५ लाखकाे लक्ष लिएकाे छ ।