रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षिय सुवर्ण सुनारको मृत्यु भएको हो । तीन दिन अगाडी अरिंगालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो । साथीहरुसंग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेका थिए ।
तीन दिनसम्म झुल्नेटामा रहेको नीजि स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिनुभयो । सुनारको शरिरमा ५३ वटा घाउ देखिएको छ । त्यसकारण सुनारलाई ५३ वटा अरिंगालले टोकेको अुनमान गरिएको विश्वकर्माले बताउनुभयो । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव हुनुहुन्थ्यो ।
उहाँ एक समय जिल्लाको चर्चित भलिबल खेलाडी समेत हुनुहुन्थ्यो । सुनार हाल त्रिवेणी गाउँपालिकामा कर संकलकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई गाउँपालिकाले रुकुम र सल्यानको सिमाना खौलामा खटाएको थियो । त्यहीबाट अरिंगाल झार्न सल्यान गएको बताईएको छ । सुनारको शव जिल्ला ल्याईरहेको बताईएको छ ।