२६ वर्षीय प्रकाश खत्रीको गाउँमा क्रियाशिलता बढेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, मा खत्री सक्रिय हुनुहुन्छ । एउटा युवा यसरी गाउँमा सक्रिय व्यक्तिगत काममा होइन । सामुहिक र जनताको सेवामा खत्री सक्रिय हुनुहुन्छ । गत जेठ पहिलो साताबाट खत्रीको झन सक्रियता बढेको हो । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका २ नम्बर वडाको अध्यक्षमा निर्वाचित भएपछि खत्रीको सक्रियता बढेको हो । वडाध्यक्षमा निर्वाचित भएपछि खत्री निरन्तर जनताको सेवामा खटनपटन गरिरहनु भएको छ । पढ्ने वा कमाउने उमेरमा खत्री समाज सेवामा होमिनुभयो । संगी,साथी कमाउछन्, पढ्छन् । उहाँ भने राजनीति मार्फत समाज सेवामा रमाउन थाल्नु भएको छ । नेपाली कांग्रेसको वडा सभापति समेत रहनु भएका खत्री गाउँको दुःख, समस्या समाधानमा सकेको गर्ने उद्देश्य सहित राजनीतिमा आउनु भएको हो । पार्टीको वडा सभापति भएको छोटो समयमै उहाँले जनप्रतिनिधि बन्ने अवसर पाउनुभयो । जनताले उहाँलाई वडाध्यक्षमा निर्वाचित गरेका छन् ।
गाउँका दुःख देखेपछि समाजसेवामा
खत्री यस अघि पढाइको शिलशिलामा काठमाण्डौं तथा काभ्रेमा बस्नुभयो । पढाइको साथसाथै अरु काममा पनि सक्रिय खत्री काभ्रेका गाउँ गाउँ सम्म पुग्नुभयो । गाउँको दुःख समस्या देखेपछि उहाँलाई गाउँ र गाउँलेको सेवा गर्न मन लाग्यो । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा काम गर्ने क्रममा उहाँ गाउँ गाउँ पुग्नु पर्दथ्यो । त्यस क्रममा उहाँले गाउँको विकास, समस्या देखेपछि समाज सेवामा चासो राख्नुभयो । लगत्तै जन्मभूमी फर्केर राजनीति मार्फत समाज सेवा थाल्नुभयो । जन्मेपछि गाउँमा कमै बसेका खत्री गाउँ फर्केर लामो समय बस्नुभयो । त्यस क्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य र जनताको सेवालाई सर्वोपरी ठान्दै गाउँमै बस्ने निर्णय गर्नुभयो । गाउँको सेवा गर्ने माध्यम जनप्रतिनिधि ठानेर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभयो र समाज सेवामा लागिरहनु भएको छ । त्यस अघि पनि गाउँ बस्दा गाउँको सेवा गर्नुपर्ने लक्ष उहाँमा सानैदेखि थियो ।
कान्छो वडाध्यक्ष
उहाँ रुकुम पश्चिमको कान्छो वडाध्यक्ष हुनुहुन्छ । जिल्लाका तीन नगर र तीन गाउँपालिकामा ७३ वडा छन् । यसमध्य खत्री सबभन्दा कान्छा भएको बताइएको छ । उहाँ २६ वर्षमा वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । सम्भव त २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कम उमेरमा निर्वाचित हुने वडाध्यक्ष खत्री नै हुनुहुन्छ । उहाँले स्नातक सम्मको अध्ययन गर्नुभएको छ । ८ कक्षा सम्म गाउँमै पढेका खत्रीले ९ र १० खलंगा स्थित त्रिभुवन जनता माविमा अध्ययन गर्नुभएको थियो । त्यसपछिको उहाँको सम्पूर्ण अध्ययन काठमाण्डौंमा भयो । अध्ययन र अध्ययनपछि गाउँ फर्केर पनि उहाँ विभिन्न माध्यमबाट समाज सेवामा क्रियाशिल नै रहनु भएको थियो । ५ वर्षे कार्यकालमा सकेसम्म धेरै गर्ने योजना बनाएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
अघिल्लो सरकारले गरेका कामलाई पूर्णता दिने, नभएका कामको सुरुवात गर्ने र वडामा भैरहेका काम र गर्ने कामको बारेमा अघिल्लो सरकारका जनप्रतिनिधिहरुको सल्लाह लिदै काम गर्ने योजना खत्रीको छ ।
कार्यपालिका प्रवक्ताको पनि जिम्मेवारी
वडाध्यक्ष खत्रीको अर्को जिम्मेवारी पनि छ । खत्रीलाई बाँफिकोट गाउँ कार्यपालिकाले कार्यपालिका प्रवक्तामा मनोनित गरेको छ । गाउँ कार्यपालिकाका निर्णय, पारीत गरेको ऐन, नियम, कार्यविधिका बारेमा सूचना सार्वजनिक गर्ने गरी खत्रीले प्रवक्ताको जिम्मेवारी पाउनुभएको छ । यस जिम्मेवारीलाई आफूले महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको खत्रीले बताउनुभयो । गहन र महत्वपूर्ण जिम्मेवारीलाई त्यसरी नै पूरा गर्न केही कसर बाँकी नराख्ने खत्रीले बताउनुभयो । कार्यपालिकालाई सबै बाँफिकोटबासीको बनाउनका लागि प्रवक्ताको भूमिका कम नहुने प्रतिबद्धता पनि खत्रीको छ । भर्खरै प्रवक्ता नियुक्त भएकाले यसको विस्तृत कार्य योजना बनाएर काम गर्ने सुरुमा उहाँ हुनुहुन्छ । वडामा पनि काम गर्नुपर्ने, कार्यपालिकाकै प्रवक्ताको पनि काम गर्नुपर्दा तालिका बनाएरै काम गर्ने योजनामा रहेको खत्रीले बताउनुभयो ।
५ वर्षका योजना
उहाँले ५ वर्षमा सकेको पहल र प्रयास गरेर विकास निर्माण, शिक्षा, स्वास्थ्यमा सुधार गर्ने योजना बनाउनुभएको छ । वडाका लगभग अधिकांश टोलमा सडक पुगेको छ । नपुगेका ठाउँमा सडक पुर्याउने, सडकको स्तरोन्नती गर्ने योजना उहाँको छ । अघिल्लो कार्यकालको सरकारले पुरा गर्न बाँकी सडक निर्माणको कामलाई पुर्णता दिने वडा अध्यक्ष खत्रीले बताउनुभयो । मेलगैरी जोड्ने सडक, रिङरोड अन्तरगत रहेको सडकलाई पुर्णता दिने र वडामा रहेका सडकहरुलाई स्तर उन्नतीको लागि पहल गर्ने खत्रीले बताउनुभयो । मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडाका केहि गारेटा बाटाहरु निर्माण तथा मर्मत गरिएको छ भने अव बाँकी रहेका बाटाहरुलाई मुख्य प्राथामिकतामा राख्ने वडाध्यक्ष खत्रीको योजना छ ।
वडाको थगारे खोलाबाट जिपु गाउँसम्म आएको पानीलाई एक वर्ष भित्रै एक घर एक धाराको अवधारणा अनुसार घर–घरमा धारा निर्माणको काम थालिने छ । वडाको कुनाखेत, भलाचौर थारकाट्टे लगायत वस्तिहरुमा पनि एक घर एक धाराको अभियान अन्तरगत काम गरिने अध्यक्ष खत्रीको योजना रहेको छ । जिपुमा आफ्नै लगानीमा केही टोलमा पानी पुर्याएका योजनाको मर्मत र संभारको लागि पनि वडा सरकारले विषेश प्राथामिकताको साथ हेरेका र त्यो पुरा गर्ने योजना वडाध्यक्षको छ । पालिका, प्रदेश र संघिय सरकारलाई विभिन्न खानेपानीको योजनाको लागि वजेट माग गरी आफ्नो कार्यकाल भित्रै सम्पूर्ण वडाबासीलई खानेपानीको पहुँचमा पुर्याउने खत्रीको योजना छ ।
वडामा रहेका सवै विद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने योजना रहेको छ । जनकल्याण माध्यामिक बिद्यालयमा सञ्चालित ३ वर्षीय बाली विज्ञाण संकायलाई प्राथामिकतामा राख्दै छुट्टै प्राविधिक शिक्षाको लागि भवन निर्माण गर्ने योजना अध्यक्ष खत्रीको छ । वडामा प्रत्यक वर्ष विद्यार्थी भर्ना कार्यक्रमलाई प्रभावकारी गराउँदै कोही पनि बालबालिका शिक्षाको पहुँच छुट्ने छैनन् । वडामा रहेका सबै विद्यालयहरुलाई छाना मुक्त बनाई पक्कि भवन निर्माणको काम गर्ने योजना वडाध्यक्ष खत्रीको रहेको छ ।
आफ्नो कार्यकाल भरी शिक्षा क्षेत्रको विकासमा केही गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताउनुभयो । अघिल्लो सरकारले गरेका कामलाई पूर्णता दिने, नभएका कामको सुरुवात गर्ने र वडामा भैरहेका काम र गर्ने कामको बारेमा अघिल्लो सरकारका जनप्रतिनिधिहरुको सल्लाह लिदै काम गर्ने योजना खत्रीको छ । कृषि, स्वास्थ्य, सिचाईलाई प्राथामिकतामा राखेका काम गर्ने योजना रहेको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।
kakhara.com ले वडाध्यक्षका योजना, वडामा भएका विकास निर्माण, समस्या, चुनौती लगायतका विषयलाई समेटर स्टोरी प्रकाशित गर्दै आएको छ ।