Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
साभार ।

रुकुम पश्चिममा सम्बन्ध विच्छेद विकराल बन्दै गएको छ । जिल्ला अदालतमा दर्ता हुने सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । वितेको वर्ष मात्र जिल्ला अदालतमा झण्डै २ सय सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । वितेको आर्थिक वर्ष २०७८/०७९ मा अदालतमा रहेका कुल मुद्दाको ४३.४८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको रुकुम जिल्ला अदालतले जनाएको छ । गत वर्ष सम्बन्ध विच्छेदका कुल २ सय ८७ वटा मुद्दा रहेका थिए ।

जवकी जिल्ला अदालतमा सबै मुद्दाको वार्षिक संख्या ६ सय ४० थियो । सम्बन्ध विच्छेदका मुद्दा मध्य अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय १२ वटा मुद्दा थिए भने १ सय ७६ वटा नयाँ मुद्दा दर्ता भएका थिए । कुल सम्बन्ध विच्छेदका मुद्दा मध्य २ सय ३५ वटा फछ्र्यौट भएका छन् । यो ८२.५७ प्रतिशत हो । ५२ वटा मुद्दा भने वितेको वर्ष फछ्र्यौट हुन नसकि चालु आ.व.का लागि जिम्मेवारी सरेर आएका छन् । 

जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दाको अवस्थालाई हेर्ने हो भने जिल्लामा सम्बन्ध विच्छेद भयावह अवस्थामा रहेको छ । वर्षेनी सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । जिल्ला अदालतमा आउने मुद्दाको प्रकृतिलाई हेर्ने हो भने सम्बन्ध विच्छेदका लगभग उस्तै उस्तै कारणहरु रहेको जिल्ला अदालतका निमित्त श्रेष्तेदार बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी र बालबिवाह लगायत देखिएको उहाँको भनाई छ ।

Aadalat1659938593.jpg
रूकुम जिल्ला अदालत ।

श्रीमान विदेशमा गएपछि सम्बन्धमा टकराव आउने र त्यो सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्ने गरेको उहाँले बताउनुभयो । जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । त्यस्तै सानैमा गरेको विवाह पनि विभिन्न कलह पछि सम्बन्ध विच्छेदमा पुगेर टुंगिने गरेको पौडेलले बताउनुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा बालबिवाहको दर ५७ प्रतिशत थियो । 

महिलाका तर्फबाट पर्ने अधिकांश मुद्दामा कारणहरु लगभग उस्तै हुने गरेका छन् भने पुरुषले दिने मुद्दामा पनि समानता देखिन्छ । जिल्ला अदालतका निमित्त श्रेष्तेदार पौडेलका अनुसार पुरुषहरुले लिएर आउने मुद्दामा आफु विदेश गएपछि श्रीमतिले बाहिर सम्बन्ध राखेको, आफुलाई वास्ता नगरेको, सम्पतिको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको, आमा बुवालाई नहेरेको जस्ता कारणहरु रहने गरेका छन् ।

त्यस्तै महिलाहरुको मुद्दामा श्रीमानले कुटपिट गरेको, खान लाउन नदिएको, स्वतन्त्रता नभएको, दाईजोका कारण यातना दिएको, वैदेशिक रोजगारीमा गएपछि आफुलाई वास्ता नगरेको जस्ता कारणहरु उल्लेख हुने गरेको जिल्ला अदातलका निमित्त श्रेष्तेदार पौडेल बताउनुहुन्छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update