रुकुम पश्चिममा साउन महिना लागेसंगै कोरोना संक्रमण दर बढ्दै गएपछि सुरक्षा सतर्कता बढाउन थालिएको छ । लामो समय जिल्लामा शुन्य संक्रमण रहेपनि साउन महिना लागेसंगै कोरोना संक्रमण बढ्दै गएको छ ।
साउन महिनामा मात्र १ सय ८३ जनामा कोरोना परीक्षण गरिएकामा ३६ जनामा संक्रमण देखिएको छ । संक्रमण बढ्न थालेपछि जिल्लामा कोभिड विरुद्धको खोपलाई नियमित गर्ने र कोरोना जाँचलाई बढाईने भएको छ । साथै सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसी जिल्लामा कोभिड विरुद्धको खोप कार्यक्रम नियमित रुपमा संचालन गर्ने, जिल्ला अस्पताल तथा स्थानीय तहमा पनि नियमित कोभिड जाँच गर्ने, यसका लागि अस्पताल र स्थानीय तहलाई अनुरोध गर्ने, आईसोलेसन र अत्यावश्यक सामग्रि तथा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
साथै अनावश्यक रुपमा भिडभाडमा नजान, मास्क, सेनिटाईजरको नियमित प्रयोग गर्न, साबुन पानीले नियमित रुपमा हात धुन अनुरोध गर्नुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा यसको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यसैविच जिल्लामा भाद्र ५ गतेदेखि ५–१० वर्ष उमेर समुहका बालबालिकाहरुका लागि पनि कोभिड विरुद्धको खोप अभियान संचालन हुने भएको छ ।
फाईजर खोप सहित अन्य खोपलाई पनि नियमित गर्न लागिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।