स्थानीय तहको निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ नयाँ मतदाता थपिएका छन् । असार १ गतेदेखि साउन १९ गतेसम्म उक्त मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नयाँ थपिने मतदाता मध्य ६ सय २ जना महिला र ७ सय ३० जना पुरुष रहेका छन् ।
थपिएका मध्य सबै मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने वा नपाउने भन्ने एकिन भइनसकेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । नागरिकता बनेपछि मतदाता नामावली बनाउन पाउँने तर १८ वर्ष नपुगेका मतदाताले मतदान गर्न नपाउने भएकोले थपिएका मध्य कति मतदाता योग्य छन् भन्ने अहिले नै एकीन नभएको उहाँको भनाई छ ।
जिल्लामा यसअघि मतदाताको संख्या १ लाख ४ हजार ७ सय ८२ थियो । यि सबै १८ वर्ष पुगेका मतदाता हुन् । यस बाहेक नामावली भएका तर १८ वर्ष नपुगेका मतदाताको संख्यामा पनि रहेको छ । आगामी प्रदेश र प्रतिनिधि सभामा मतदाता संख्या कति हुन्छ भनेर नामावलीमा दाबी विरोध पछि मात्र थाहा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मंसिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएसंगै मतादता नामावली दर्ताको काम रोकिएको छ । अव निर्वाचन सकिएपछि मात्र नयाँ मतदाता नामावली दर्ताको काम सुरु हुने छ ।