रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ क्युवाङका लयन पुनको बारी स्याउले लटरम्म छ । उनको बारीमा ६० बोट स्याउ छन् । त्यसको छउमै छ वयन पुन र विपल पुनको स्याउ वारी । लयन, वयन र विपलको स्याउ बारी संगै छ । झट्ट हेर्दा एउटैको जस्तो लाग्छ । यि तीनको बारीमा करिब २ सय स्याउका बोट छन् । आफ्नो बारीमा १० देखि ३, ४ वर्ष उमेरसम्मका स्याउका बोट रहेको लयन पुन बताउनुहुन्छ । उहाँको बारीमा विक्रि गर्ने गरी स्याउ फलेको भने धेरै भएको छैन् ।
जुम्लाबाट विभिन्न प्रजातीका स्याउका विरुवा ल्याएर लगाएको उहाँले बताउनुभयो । ३, ४ वर्ष देखि अलि बढी स्याउ उत्पादन हुन थालेको उहाँको भनाई छ । अहिले बोटबाटै प्रति दाना १० रुपैंयामा स्याउ विक्रि भइरहेको उहाँले बताउनुभयो । ठूलो आम्दानी भने स्याउले अझै दिन नसकेको उहाँ बताउनुहुन्छ ।
क्युवाङमा मात्र होईन रुकुम पूर्वका विभिन्न ठाउँमा स्याउ उत्पादन हुने गरेको छ । तीन स्थानीय तह मध्य सबैभन्दा राम्रो उत्पादन पुथाउत्तरगंगा गाउँपालिकामा हुने गरेको छ । १४ वडा रहेकामा लगभग सबै वडामा स्याउ फल्छ । त्यहाँका किसानहरुले स्याउलाई पनि आम्दानीको स्रोत बनाएका छन् । उपयुक्त हावापानीका कारण स्याउ राम्रो फल्ने गरेको छ । पछिल्ला दिनहरुमा स्याउको उत्पादन बढ्दै गएको देखिन्छ । स्थानीय तह बनेपछि स्थानीय तहले समेत स्याउ उत्पादनमा जोड दिएका छन् ।
साथै रोग किराको नियन्त्रणका लागि स्थानीय तहले सहयोग गरिरहेका छन् भने विरुवा अनुदानमा उपलब्ध गराईरहेका छन् । जिल्लाको भूमे गाउँपालिकामा पनि स्याउको खेति हुने गरेको छ । गाउँपालिकाका लेकाली क्षेत्रमा राम्रै स्याउ फल्ने गरको स्याउ उत्पादक कृषकहरु बताउँछन् । अन्य दुई स्थानीय तहको तुलनामा सिस्ने गाउँपालिकामा भने स्याउको खासै उत्पादन हुँदैन् । केही लेकाली क्षेत्रमा केही मात्रामा स्याउका बोटहरु रहेपनि ठूलो मात्रामा स्याउ फल्दैन् । हावापानीका कारण सिस्ने गाउँपालिका स्याउका लागि त्यति उपयुक्त देखिदैन् ।
ठूलो समस्या बजारको
राम्रो उत्पादन हुँदा हुँदैपनि रुकुम पूर्वका किसानले स्याउलाई आम्दानीको मुख्य स्रोत भने बनाउन सकेका छैनन् । जति राम्रो स्याउ फलेपनि बजारसम्मको सहज पहुँच नभएका कारण स्थानीय किसानले स्याउबाट मनग्य आम्दानी लिन नसकेका हुन् । अहिले पनि जिल्लाका सबैतिर सडक सञ्जाल जोडिएको छैन् । जसका कारण स्याउ बजार पुर्याउन ठूलो सास्ती छ । घोडा र खच्चडमा ढुवानी गरिएका स्याउ पनि चोट लागेर कामै नलाग्ने हुन्छन् ।
मान्छेले ढुवानी गर्ने अवस्था छैन् । जति स्याउ फलेपनि त्यसबाट किसानले खासै फाईदा लिन नसकेको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माका लक्ष्मीप्रसाद पुनको भनाई छ । ‘ठूलो मात्रामा स्याउ फल्छ, तर के गर्नु बजारसम्म पुर्याउन सहज छैन्, किसानले स्याउबाट फाईदा लिन सकेका छैनन् उहाँले भन्नुभयो ।’
कोशेली र जाँडमा प्रयोग हुन्छ स्याउ
जिल्लामा गोल्डेन, रोयल, रोयल गोल्डेन, जुनाथिन, रेड डेलिसियस, गोल्डेन डेलिसियस लगायतका करिब १ दर्जन जातका स्याउ उत्पादन भैरहेको छ । पुथाउत्तरगंगा गाउँपालिकामा मात्र फल्ने र नफल्ने गरी करिब १ लाख स्याउका बुटा रहेको अनुमान छ । त्यस मध्यमा आधा भन्दा बढीले फल दिने गरेका छन् । बजार र मुल्य नहुदा अधिकांश किसानले स्याउलाई कोशेली र जाँडमा प्रयोग गर्ने गरेका छन् । विक्रि हुन बाँकी रहेको स्याउ आफन्तलाई डोकोकै हिशावले कोशेली बाढ्ने गरेको पेल्पाका कृषक पुनले बताउनुभयो । उहाँका अनुसार बाँकी रहेका स्याउ स्थानीय जाँड बनाउन समेत प्रयोग गर्ने गरेका छन् । केहि स्याउ त बंगुर, सुंगुर र गाईलाई समेत खुवाउने गरेको कृषकहरुको भनाई छ ।
ढुवानीमा अनुदान दिन्छौं
उत्पादन भएको स्याउलाई बजारसम्म पुर्याउनका लागि ढुवानीमा अनुदान दिने देखि अन्य व्यवस्था गर्ने पुथाउत्तरगंगा गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले यो सिजनमा किसानको बारीमा फलेको स्याउलाई बजार कसरी पुर्याउन सकिन्छ भनेर सोचिरहेको बताउनुभयो । ढुवानीमा अनुदान दिएर भएपनि स्याउलाई बजारसम्म पुर्याउने उहाँले बताउनुभयो । बजारीकरणका लागि अन्य के गर्न सकिन्छ भनेर समेत सोचिरहेको उहाँको भनाई छ । यसबाहेक किसानलाई तालिम, बिरुवा, औषधी लगायतको व्यवस्था पनि गाउँपालिकाले गरिरहेको जानकारी उहाँले दिनुभयो ।