रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले कर्मचारी भर्ना गरेको छ । विभिन्न विषयगत कर्मचारीहरु गाउँपालिकाले करार भर्ना गरेको हो । त्यस्तै विभिन्न तहका गरी ८१ जना शिक्षकहरु पनि नियुक्त हुँदै छन् । गाउँपालिकाले पुराना करार कर्मचारीहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो ।
बालशिक्षा सहयाेगी कार्यकर्ता, कृषि, पशु सेवा सहित स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार बालशिक्षामा १५ जनालाई भर्ना गरिएको छ । त्यस्तै कृषि र पशु सेवा तर्फ ५/५ जना, स्वास्थ्यकर्मी तर्फ अहेव १० जना, अनमि ७ जना र ल्याबमा ३ जनालाई भर्ना गरिएको हो ।
लिखित, मौखिक र प्रयोगात्मक परीक्षा संचालन गरी नयाँ कर्मचारी भर्ना गरिएको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले प्रावि, निमावि र मावि तहका ८१ जना शिक्षक नियुक्तिको प्रक्रिया पनि अगाडी बढाएको छ । प्रावि तर्फ ४१ जना, निमावि तर्फ ३० जना र मावि तर्फ ११ जना शिक्षक भर्नाको प्रक्रिया जारी रहेको उहाँको भनाई छ ।
गाउँपालिकामा यसअघि १ सय ८२ जना शिक्षक मात्र करारमा कार्यरत थिए । त्यस्तै ठुलो संख्यामा अन्य कर्मचारी कार्यरत थिए । आवश्यकता भन्दा बढी कर्मचारी भएपछि पुरानालाई हटाएर नयाँ भर्ना खोलिएको अध्यक्ष घर्तीले बताउनुभयो । कर्मचारी कटौति गर्नुपर्ने अवस्था आएपछि विवाद नहोस् भनेर पुनः भर्ना खोलिएको उहाँले बताउनुभयो ।