कमलदह यतिबेला भरिभराउ हुनुपर्ने हो । कमलदहका सबै कुनाहरुमा पनि पानी बढ्नुपर्ने हो । बढेर पनि ढोलिनुपर्ने बेलासम्म कमलदहमा पानी भरिएको छैन । हरेक वर्षातको समयमा यतिबेलासम्म कमलदह भरिभराउ भएर पानी पोखिन थाल्थ्यो पनि । तर यो वर्ष कमलदह भरिनै पाएको छैन । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदह हिउँदको तुलनामा केही पानी बढेपनि जति भरिनुपर्ने हो त्यति भरिएको छैन ।
कमलदह नभरिएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । विस्तारै कमलदह नै लोप हुने त हैन भन्दै स्थानीयमा चिन्ता थपिएको छ । साउन १५ सम्म कमलदह डम्मै भरिसक्थ्यो । तर यो पटक थोरै बाहेक भरिएकै छैन । दहमा हरियाली बढेको छ तर पानी भरिएको छैन । ‘मेरो यो उमेरसम्म कमलदहमा यति थोरै पानी भएको कहिल्यै थाहा पाइन,’ स्थानीय लखन स्वाँरले भन्नुभयो ‘के भयो यो वर्ष कमलदहमा पानी नै भरिएन ।’ यो समयसम्म दहमा धेरै पानी भएर कमल धेरै डुबेको हुनुपर्ने भएपनि यो वर्ष भने धेरै कमल देखिएर दह नै हराएको जस्तो भइरहेको स्वाँरको भनाई छ ।
दहका छेउछाउ सबैतिर पानी देखिन छाडेका छ । कमलले नै धेरै ढाकेको छ । गत सिजनमा कमलका जरा ननिकालेका कारण यस्तो भएको हो कि भन्ने प्रश्नमा कमलदहको संरक्षणमा जुटेका अर्का स्थानीय मदन शाहले दहमा पानी नै नभएका कारण यस्तो भएको बताउनुभयो । ‘जति पानी भरिनुपर्ने थियो, भरिएको छैन, अब भरिएला भन्ने सम्भावना कम छ,’ शाहले भन्नुभयो । रुकुमकोटको महत्वपूर्ण क्षेत्र कमलदह संरक्षणमा सबै लाग्नुपर्ने अवस्था आइसकेको उहाँले बताउनुभयो ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि दहमा पानी नभरिएको बताउनुभयो । डेढ देखि २ मिटर सम्म बढी पानी हुनुपर्ने समय भएपनि यो बेला पानीको सतह तलै रहेको अध्यक्ष रेग्मीले बताउनुभयो । जलवायु परिवर्तणको असर र मानविय कारणले कमलदहमा पानी भरिन नसकेको भनाई अध्यक्ष रेग्मीको छ । जलवायु परिवर्तणले धेरै पानी पर्न नसकेको र दह वरपर निर्माणका काम भइरहेकाले भल दहमा पस्न नसकेको रेग्मीले बताउनुभयो ।
पहिला वरपरको भल पस्ने गरेकाले पनि सजिलै दह भरिने गरेको उहाँको भनाई छ । कमलदहको संरक्षणका लागि आवश्यक परेपछि भल हाल्ने गरी सोचिएको बताउनुभयो । ‘पहिलो स्वच्छ भल पस्थ्यो, यस पटक विविध कारणले भल पस्न दिइएको छैन, यसैले पनि समस्या भएको हो,’ अध्यक्ष रेग्मीले भन्नुभयो । गाउँपालिकाले यसको विस्तृत अध्ययन गर्ने र संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।