Kakhara सबैको खबर सम्पूर्ण खबर
सुध्रदै रुकुम पूर्वका बजार
बजार अनुगमन गर्दै जिल्ला स्तरीय बजार अनुगमन समितिका पदाधिकारी ।

रुकुम पूर्वका पसल व्यवसाय विगतका भन्दा सुधार हुँदै पाइएको छ । बुधबार जिल्ला स्तरीय बजार अनुगमनका क्रममा विगतको भन्दा अहिले जिल्लाका पसल व्यवसाय व्यवस्थित बन्दै पाइएकाे हो । व्यवसाय सञ्चालन गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ ।

त्यस अनुसार विगतको तुलनामा अहिले जिल्लाका पसल व्यवसाय कानुनी प्रक्रिया पूरा गरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गरिराखेको पाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभयो । सदरमुकाम रहेको सिस्ने गाउँपालिका–६ स्थित छिप्रिदह बजार अनुगमन गरिएको थियो ।

बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री पनि छिटपुट मात्रामा पाइएको आचार्यले बताउनुभयाे । खाद्यान्न, फेन्सी, सुन चाँदी, इलेक्ट्रोनिक, होटल, सिलाइ कटाइ, मासु पसल लगायत गरी ५४ वटा पसल व्यवसायको अनुगमन गरिएको थियो । त्यस मध्ये २१ वटा खाद्यान्न पसलबाट म्याद नाघेको सामग्री ५ हजार २ सय ५० रुपैयाँ बराबरको बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

५४ वटा व्यवसाय मध्ये चार वटा व्यवसाय मात्र दर्ता बिनाका रहेको पाइएको छ । “विगतका बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री धेरै मात्रामा फेला पर्ने गरेको थियो” आचार्यले भन्नुभयो–“हाल बेलाबेलामा बजार अनुगमनले व्यवसायीमा पनि चेतना बृद्धि भएको पाइएको छ ।” यसैगरी व्यवसाय पनि सबै कागज पत्र जुटाइ सञ्चालन गरेको पाइएको छ ।

विगतमा अधिकांश पसल व्यवसाय दर्ता बिनाका र दर्ता भएकामा पनि नविकरण नगरिएको पाउने गरेको थियो । अहिले व्यवसाय दर्ता गरिएको र नविकरण पनि समयमै गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । केहीमा सरसफाई र मूल्य सूचि नराखेको पाइएको छ । केही कमी, कमजोर देखिएका व्यवसायीलाई अनुगमन टोलीले थप सल्लाह, सुझाव दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update