रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ गोल्डाँडामा रहेको बाल कल्याण आधारभुत बिद्यालयको २ कोठे भवन बनेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट नयाँ दुई कोठे भवन निर्माण भएको हो । भवन निर्माण भएपछि सुरक्षित वातावरणमा पठनपाठन हुने भएको छ । विद्यालयमा भवनको अभाव छ । कक्षा कोठाको अभावमा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता समेत रहेको विद्यालयले जनाएको छ । अव नयाँ भवन निर्माण भएपछि भने कक्षा कोठाको अभाव कम हुने विद्यालयले जनाएको छ ।
विद्यालयले नजिकैको स्थानीयको घर भाडा लिएर समेत पठन पाठन गराईहेको छ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमबाट विनियोजित ३६ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक भिमबहादुर नकालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख र फिल्ड तथा भवन निर्माणका लागि भनेर कर्णाली प्रदेशबाट आएको १५ लाख बजेटबाट अर्को नयाँ भवन निर्माण गर्न लागिएको छ । दुई वटा भवन मिलाएर ६ वटा कोठा निकाल्न लागिएको उहाँको भनाई छ ।
८ कक्षा सम्म पढाई हुने यो विद्यालयमा हाल २ सय ७४ जना विद्यार्थी अध्ययनरत छन् । एउटा विद्यालय भवन निर्माण सकिएको र अर्को भवन पनि निर्माण हुन लागेपछि विद्यार्थी, शिक्षक संगै अभिभावक पनि हर्षित भएका छन् ।