रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधिन रुकुमगाड जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अवको ६ महिना भित्रमा सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । यो आयोजना राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन अन्तरगत भइरहेको छ । अहिले पाईपलाईन र पावर हाउसमा मेशिन जडानको काम चलिरहेको राप्ती हाइड्रोका जनसम्पर्क अधिकृत धिरेन्द्रप्रकाश शाहले जानकारी दिनुभयो ।
२.५ किलोमिटर लामो पाईपलाईन मध्य अव थोरै मात्र काम बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पावर हाउसका लागि घर निर्मा, इन्टेक निर्माण र आयोजनाको पाउरहाउस देखि रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा रहेको सव स्टेशनसम्म पोल तथा तारको काम सम्पन्न भइरहेको छ । ठुलो समस्या केही नभएमा आगामी पुषसम्ममा बत्ति बालिसक्ने लक्ष राखिएको जनसम्पर्क अधिकृत शाहले बताउनुभयो ।
अहिले बाँकी रहेको पाईप लाईनको काम र पावर हाउसमा मेशिन जडानको काम भइरहेको उहाँको भनाई छ । त्यस्तै अन्य मर्मतको काम पनि जारी छ । करिब एक अर्व लागतमा यस आयोजनाको निर्माण हुन लागेको हो । विभिन्न ठेकदार कम्पनीले आयोजनाको काम गरिरहेका छन् । सिभिल तर्फको काम एटिसी–कविन्द्र जेभी, पोल र तारको काम सिंह कन्ट्रक्सन, नर्थ हाईड्रोले पाईपलाईनको काम र इन्डियन वि.एस.एल. कम्पनीले मेशिनको जिम्मा लिएको छ ।
आयोजनाको काम २०७६ बाट सुरु भएको हो । कोभिड लगायतका कारणले आयोजनाको काममा असर पुगेको बताईएको छ । यस आयोजनाबाट उत्पादित विद्युत रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा अवस्थित सव स्टेशनमा ल्याईने छ ।