Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा बढ्दै आयुर्वेद सेवा लिने  
आयुर्वेद शिवरमा सेवा लिन आएकाहरु ।

रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या बढ्दै गएको छ । जिल्लामा वर्षेनी आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरुको संख्या बढ्दै गएको देखिएको छ । वितेको आर्थिक वर्षमा साढे १३ हजारले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । १३ हजार ६ सय ३४ जनाले वर्षभरीमा आयुर्वेद स्वास्थ्य सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ । गाउँघर क्लिनिक, जेष्ठ नागरिक सेवा, योग सेवा र क्षार सुत्र गरी ७ हजार ७७ महिला र ६ हजार ५ सय ७७ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर मानवहादुर ओलीले जानकारी दिनुभयो ।

गाउँघर क्लिनिकबाट महिला ३ हजार ८ सय २३ र पुरुष ३ हजार ४ सय ५७ गरी ७ हजार २ सय ८०, जेष्ठ नागरिक सेवा अन्तरगत २ हजार १ सय ६४ महिला र २ हजार ६ सय ३२ पुरुष गरी कुल ४ हजार ७ सय ९६, योग सेवा महिला १ हजार ४ सय ८ र पुरुष १ हजार ३ सय ५४ गरी कुल २ हजार ७ सय ६२ जना तथा श्रार सुत्रको सेवा २ सय ३५ जनाले लिएको उहाँले बताउनुभयो । श्रार सुत्रको सेवा लिनेमा पुरुष १ सय ४१ र महिला ९४ जना रहेका छन् । सबै सेवाहरु निःशुल्क रुपमा प्रवाह भइरहेका छन् ।

चेकजाँच, औषधी वितरण, जेष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधी तथा पोषिला खानेकुरा, पञ्चकर्मद्धारा विभिन्न समस्याको उपचार सहित ल्याब सेवा पनि आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रवाह भइहरेको डाक्टर ओलीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकहरुको आकर्षण बढ्दै गएको देखिन्छ । आयुर्वेद उपचार पद्धतिमा विश्वास बढ्दै गएकोले उपचार सेवा लिनेहरुको संख्या बढ्दै गइरहेको उहाँको भनाई छ ।

निःशुल्क रहेको र भरपर्दो देखिएपछि आफुहरु आएको सेवा लिन आउनेहरुले बताउने गरेको उहाँले बताउनुभयो । स्थानीय तहहरुमा पनि आयुर्वेद सेवा पुग्नु, बेला बेलामा ठाउँ ठाउँमा शिविर संचालन गर्नु लगायतका कारण पनि सेवा लिनेहरुको संख्यामा बृद्धि भइरहेको बताईएको छ । आयुर्वेद सेवा केन्द्र मुसीकोट १ खलंगाको कालिकास्थानबाट संचालनमा छ भने जिल्लाका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य केन्द्रका नाममा आयुर्वेद सेवा प्रवाह भइरहेको छ ।

त्यस्तै मुसीकोट नगरपालिका ५ शेरिगाउमा आयुर्वेद औषाधालय संचालनमा रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update