रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर २ ले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडामा कोही बिरामी भएमा वडाले जिल्ला अस्पताल सल्ले र खलंगा बजारका विभिन्न अस्पतालसम्म निःशुल्क रुपमा पुर्याउदै आएको छ । वडाध्यक्ष दिनेश खड्काले आफुले पाउने सेवा सुविधाबाट निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्नुभएको हो ।
यो सेवा गत जेठ देखी सुरु भएको हो । सेवा सुरु भए यता वडाका १४ जना बिरामीले निःशुल्क सेवा लिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै वडाले मोटरसाईकलमा पनि बिरामीलाई सेवा दिईरहेको छ । गम्भिर खालको समस्या भएका र मोटरसाईकलमा बस्न नसक्नेलाई एम्बुलेन्स तथा अन्यलाई मोटरसाईकलबाट सेवा दिईरहेको वडाध्यक्ष खड्काको भनाई छ ।
उहाँका अनुसार अहिलेसम्म मोटरसाइकलबाट २१ जना बिरामीले सेवा लिएका छन् । वडाको आफ्नै एम्बुलेन्स नभएपनि वडा अध्यक्षको सेवा सुबिधाबाट एक पटकको १५ सयका दरले एम्बुलेन्सको भाडा तिर्ने गरिएको छ । १ वर्षमा करिब १ सय जनाले सेवा लिने अनुमान गरिएको छ । त्यस्तै यो सेवाका लागि वर्षमा १ लाख खर्च लाग्ने अनुमान छ ।
वडाबासीहरु उपचारका लागि जिल्ला अस्पताल सल्ले तथा खलंगा आउनुपर्ने भएकाले उनीहरुलाई अस्पतालसम्म पुग्न सजिलो होस भनेर चुनावी घोषणा अनुसार यो सेवा सुरु गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । वडाबासीले बिरामी भएको जानकारी आफुलाई गराएपछि आफुले एम्बुलेन्सलाई खबर गर्ने गरेको उहाँले बताउनुभयो । यसबाट सबैभन्दा बढी गरिब तथा विपन्न वर्ग लाभान्वित भएका छन् ।