Kakhara सबैको खबर सम्पूर्ण खबर
समाज सेवाको तिव्र चाहनाले वडा अध्यक्ष

दिनेश खड्का ५ वर्ष भन्दा लामो समय देखि जनप्रतिनिधिका रुपमा समाज सेवामा हुनुहुन्छ । पहिलो स्थानीय तहको निर्वाचनबाट मुसीकोट नगरपालिका वडा नम्बर २ को सदस्यमा निर्वाचित भएर वडावासीको सेवामा ५ वर्ष बिताउनुभएका खड्काको मन त्यतिले मानेन् । अघिल्लो पटककै अध्यक्ष भएर सेवा गर्ने इच्छा यो पटक आएर पुरा भयो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्षका रुपमा पहिलो पटक भएपनि जनप्रतिनिधिका रुपमा दोस्रो कार्यकालमा हुनुहुन्छ उहाँ । त्यसकारण पनि वडा र वडावासीका पिडा र समस्याका बारेमा राम्ररी साक्षातकार हुनुहुन्छ उहाँ ।

२०३३ साल फागुन ६ गते जन्मनुभएका खड्का २०४८ साल देखि सक्रिय राजनीतिमा हुनुहुन्छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको साधारण सदस्यबाट राजनीति सुरु गर्नुभएका उहाँ पार्टीको १३ औं महाधिवेशनबाट वडा सभापतिसम्म बन्नुभयो । तत्कालिन खलंगा गाविस हुँदा ८ नम्बर वडा र मुसीकोट नगरपालिका बनेपछि साविकको २ नम्बर वडाको संयोजक भएर उहाँले काम गरिसक्नुभएको छ । तत्कालिन जल्ला विकास समितिले वडाको विकासका लागि वडा संयोजक तोकेकाे थियाे । उहाँ २०७६ सालमा नेपाल ट्रेड यूनियन कांग्रेसको जिल्ला अध्यक्ष पनि बन्नुभयो । 

७ वर्ष विदेशको संघर्षपछि समाज सेवामा 
उहाँ २०६९ सालमा वैदेशिक रोजगारीका लागि विदेशिनु पर्याे । ०६६ सालसम्म उहाँले साउदी अरवमा विताउनुभयो । ७ वर्षपछि स्वदेश फर्किनुभएका खड्का त्यसपछि निरन्तर समाज सेवामा हुनुहुन्छ । दुःखमा परेकाहरुलाई सहयोग गर्न उहाँको तत्परता सधै देखिन्छ । विदेशमा गएर काम गरेपछि दुःख के हो त्यसको अनुभुति भएको र विभिन्न समस्याले गर्दा दुःखमा परेकालाई देख्दा आफैलाई परेको जस्तो लाग्छ उहाँलाई । कोही पनि विदेशिन नपरोस भन्ने उहाँलाई लाग्छ ।

जे छ त्यसमै रमाउने हो र अहिलेको भन्दा केही रोजगारी हुने हो भने धेरै युवाहरुलाई देशमै रोक्न सकिने उहाँको बुझाई छ । यही कुरा बुझेर उहाँ पहिलो स्थानीय तहकै निर्वाचनका बेला अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । तर अन्तिममा उहाँले टिकट पाउनुभएन र पार्टीले उहाँलाई सदस्यको टिकट दिएकाे थियो । ५ वर्षे सदस्यको कार्यकाल सकिएपछि भने उहाँ पार्टीबाट दोस्रो निर्वाचनमा निर्विकल्प वडाध्यक्षको उम्मेदवार बन्नुभयो । 

Dinesh 21660369761.jpg

नगरको पूर्वाधार विकास समितिको जिम्मा 
खड्का वडा नम्बर २ को अध्यक्ष मात्र होईन नगरको पूर्वाधार विकास समितिको संयोजक समेत हुनुहुन्छ । जनप्रतिनिधिका रुपमा दोस्रो कार्यकाल भएपनि नगरकार्यपालिकामा भने उहाँ नयाँ हो । यसअघि बाहिरैबाट हेरेको कार्यपालिकामा उहाँ हाल भने संचालनको जिम्मेवारीमा हुनुहुन्छ । उहाँलाई नगरकार्यपालिकाले पूर्वाधार विकास समितिको जिम्मा दिएको छ । सुरुवाती चरण भएकोले काम गर्दै सिक्दै जाने अवस्थामा उहाँ हुनुहुन्छ । वडाको मात्र नभई समग्र नगरभरिलाई हुर्नुपर्ने भएकोले जिम्मेवारी थपिएको महशुस उहाँलाई भएको छ । आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने र केही देखिने काम गर्ने इच्छा उहाँमा छ । 

५ वर्षे योजना 
चालु आर्थिक वर्ष २०७९/०८० का लागि हालसम्म वडामा करिब ६ करोड बजेट आउँने सुनिश्चित भइसकेको छ । साना ठूला गरी वडाका थुप्रै योजनाहरु रहेका छन् । ५ वर्षमा एक घर एक धाराको कार्यक्रमलाई पूर्णता दिने योजना वडाध्यक्ष खड्काले सुनाउनुभयो । वडाका मुख्य सडक कालोपत्रे, मसला बाली र दुध उत्पादनमा आत्मनिर्भर, मानविय चेतना स्तर वृद्धि गर्न विभिन्न सचेतनामुलक कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको खड्का बताउनुहुन्छ । वडा सदरमुकाम नजिकै भएपनि ल्याण्डलाईन फाेनको पहुँचमा पुग्न नसकेकोले यसको लागि पहल गर्ने, लोकसेवा तयारी कक्षाहरु संचालन गर्ने योजना पनि वडाका छन् । विषयगत रुपमा वडाका योजना यस्ता छन्ः 
 
प्राविधिक शिक्षा सुरु गर्ने लक्ष
वडाले शिक्षालाई मुख्य प्राथमिकता दिएको छ । यो कार्यकालमा वडाको कम्तिमा एउटा विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात गर्ने योजना अध्यक्ष खड्काले बनाउनुभएको छ । वडामा पशुपति मावि र महाकाली मावि गरी २ वटा विद्यालय रहेका छन् । प्राविधिक शिक्षाको माग बढ्दै गएको र जीवन उपयोगी शिक्षा पनि भएकोले बिद्यालय स्तरमै प्राविधिक धार तर्फको पठनपाठन सुरु गर्ने गरी सोचिएको खड्का बताउनुहुन्छ । त्यस्तै वडाले विद्यार्थीको क्षमता विकास गर्न शुक्रवार्य कार्यक्रममा पुरस्कारका लागि दुवै विद्यालयलाई सहयोग गर्ने कार्यक्रम बनाएको छ । पशुपति माविमा ४ कोठे र महाकाली माविमा २ कोठे भवनको कार्यक्रम छ । पठन पाठनमा असर गरेको निष्कर्ष सहित वडाले विद्यालयमा मोवाईल फाेन प्रतिबन्ध गर्ने कार्यक्रम पनि बनाएको छ । 

कृषि/पशु
वडा कृषि र पशुपालनका लागि उपयुक्त मानिन्छ । वहुल वडावासी कृषि र पशुपालनमै आश्रित छन् । कृषि र पशुपालनबाट जीविकोपार्जन गर्नसक्ने वातावारण सृजना गर्ने वडाको योजना छ । जसअन्तरगत यो वर्ष आरसीसी नहर पहिलो प्राथमिकतामा परेको छ । सिडविन (वीउ राख्ने भाँडो) वितरणको कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको छ । वडालाई मसला वाली पकेट क्षेत्र घोषणा गरिसकिएको छ । यस कार्यक्रमबाट ठूलो मात्रामा वडावासीले अदुवा र बेसार खेती गरेका छन् । त्यसलाई वडाले निरन्तरता दिएको छ । वडाले दुध निर्यात गरिरहेको छ । यसलाई थप बढाउन किसानलाई सहयोग गर्ने कार्यक्रम वडाका प्राथमिकता भित्र छन् । २० वटा भैंसी वितरण गरिएकाे छ । परीक्षणका रुपमा गाई पालन सुरु गरिएको छ । कृषकलाई अभिमुखिकरण गर्ने कार्यक्रम समेत वडाको योजना भित्र समावेश छ । 

Dinesh 41660369792.jpg

स्वास्थ्यः
वडावासीको आँखा जाँचका लागि यो वर्ष ५० हजार विनियोजन गरिएको छ । वडाले प्रत्यक ६ महिनामा वडामै बिरामी जाँच गर्ने योजना बनाएको छ । जेष्ठ नागरिक सम्मानका लागि ५० हजार विनियोजन गरिएको छ । वडामा रहेको आधारभूत स्वास्थ्य इकाईको थप व्यवस्थापनका लागि ध्यान गएको वडाध्यक्ष खड्काको भनाई छ । 

पूर्वाधार
पूर्वाधार अन्तरगत सडक र गोरेटो बाटोलाई प्राथमिकता दिईएको छ । सदरमुकाम नजिकै भएकोले सडक सञ्जालको राम्रै पहुँच वडामा पुगेको छ । पातुखोला–राउखेत सडकखण्ड कालोपत्रेको काम सुरु भएको छ । सल्ले–भुर्सुली सडकको स्तरोन्नतिका लागि पनि बजेट छ । पूर्वाधार तर्फ यो वर्ष पिसीसी बाटो बन्दै छन् । जसमा सिस्नेखोला–घनठानाबाट मुल हुँदै कोलबोट सिँढिबाटो, राउखेत सिँढिबाटो, बुराडेरा–गाउँबारी–घ्यूखोला पिसीसी बाटो, ढोलगारे–घनठाना पिसीसी बाटो, सिमखोला–ढ्यांग्रीबुरे पिसीसी बाटो र राक्सेकाेट–छहरी पिसीसी बाटो रहेका छन् । यसका लागि २५ लाख बजेट रहेको छ । यसका अवाला बारीपोले पार्क निर्माणका लागि ५० लाख बजेट छ । 

सडकः
वडामा मुख्य २ वटा सडक छन् । त्यसबाहेक अन्य सहायक सडकलाई पनि वडाले प्राथमिकतामा पारेको छ । चालु वर्षका लागि पशुपति मावि देखि रुप्चा जोड्ने सडक मर्मतका लागि ५० लाख, सल्ले–भुर्सुली सडक स्तरोन्नतिका लागि ५० लाख, रावखेत–जयरामपूर–बाद्य सडक स्तरोन्नतिका लागि ५० लाख, सडक स्तरोन्नति बारीपोले ५० लाख, रातामाटा–राक्सेकोट छहरी सडक स्तरोन्नतिका लागि ५० लाख, बाद्य–सिमखेत–खालडाँडा–छहरी हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडक निर्माणका लागि ३० लाख बजेट छ । 

सिंचाई नहर
वडामा सबैभन्दा बढी माग सिंचाई नहरको छ । जसअनुसार यो वर्ष धेरै योजना सिंचाई नहरकै छन् । ९ वटा सिंचाई नहरका योजनामा चालु वर्षमा काम हुँदै छ । जसमा ढ्यांग्रीबुरे–वेरकोट सिंचाई नहर, स्वास्थ्य भवन–ठूलीमूल हुँदै सालीबिसौना सिंचाई नहर, ठूलाखोला–गैराखेत–डाँराखेत–सगाला घरसम्म सिंचाई नहर, सिस्नेखोला–मूल देखि घनठाना सिंचाई नहर, खालीगैरा–मादलखोला–वुराडेरा सिंचाई नहर, गाउँबारी–सुनारबारा सिंचाई नहर, घनठाना सिंचाई नहर, सिमखोला सिंचाई कुलो, राक्सेकोट–छहरी–छोटीपातल सिंचाई नहरको योजना रहेका छन् । सिंचाई नहरका लागि वडामा ४५ लाख बजेट छ ।

खानेपानी
खानेपानीका लागि वडामा १ करोड २४ लाख बजेट छ । दमारखोला–गाउँबारी खानेपानीका लागि ५ लाख, बाद्य खानेपानीका लागि १५ लाख, सिस्नेखोला मूलका लागि १३ लाख, सिस्नेखोला–कालच्युरी खानेपानीका लागि १४ लाख, बारीपोले–शाइकुमारी खानेपानीका लागि १४ लाख, सिमखोला–रुप्चा खोनपानीका लागि १० लाख, ठूलीमूल मुहान संरक्षणका लागि १० लाख, ज्याम्रिखोला खोनेपानीका लागि १० लाख, सिस्नेखोला–चौर खानेपानीका लागि ८ लाख, २ नम्बर खानेपानी मुहान संरक्षणका लागि २० लाख बजेट रहेको छ । 

युवा/खेलकुद
युवा, खेलकुदका लागि वडामा १ लाख बजेट छ । त्यस्तै खेलमैदान निर्माणका लागि ५ लाख बजेट विनियोजन भएको छ । वडाका राउखेत, बाद्य र रातामाटामा खेल मैदान निर्माण हुने छन् । 

Dinesh 31660369843.jpg

निःशुल्क एम्बुलेन्स सेवा 
वडाले वडावासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिईरहेको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्त गत जेठबाट यो सेवा सुरु भएको छ । वडाध्यक्षले पाउने सेवा सुविधाबाट वडाध्यक्षले यो सेवाको सुरुवात गर्नुभएको हो । वडामा कोही बिरामी भएको जानकारी पाएमा वडाध्यक्षले नै एम्बुलेन्स बोलाईदिने र बिरामीले निःशुल्क रुपमा जिल्ला अस्पताल सल्ले तथा खलंगाका विभिन्न नीजि अस्पतालसम्म पुग्न सेवा पाउने गरेका छन् । त्यस्तै सामान्य बिरामीले वडाध्यक्षको व्यक्तिगत मोटरसाईकलबाट समेत सेवा पाईरहेका छन् । अहिलेसम्म एम्बुलेन्सबाट १४ जना र मोटरसाईकलबाट २१ जनाले सेवा लिएका छन् । एक वर्षमा करिब १ सय जनाले सेवा लिने र यसबाफत १ लाख खर्च हुने अनुमान छ । यो कार्यक्रमबाट वडाका गरिब तथा विपन्न नागरिकहरु बढी लाभान्तिव हुने अपेक्षा गरिएको छ । 

चुनौति 
वडाले योजना कार्यान्वयनमा विभिन्न चुनौतिको सामना गर्नुपरेको छ । उपभोक्ता समिति वडाको टाउको दुखाईको विषय बनेको छ । कतै धेरै व्यक्ति आकांक्षी देखिने र कतै कोही पनि व्यक्ति उपभोक्ता समितिमा बस्न राजी नहुने सबैभन्दा ठुलो समस्या रहेकाे वडाध्यक्ष खड्का बताउनुहुन्छ । उहाँका अनुसार समितिमा बस्ने कोही मान्छे नै फेला नपर्दा केही थाहा नै नपाएको व्यक्तिहरुलाई पनि समितिमा राख्नुपरेको छ । कतै भने धेरै जना भएर मिलाउन मुश्किल हुने गरेको छ । यसले समग्र योजना कार्यान्वयमा चुनौति थपेको छ । राम्रो पक्ष भनेको वडामा रहेका सबै दलले मिलेर विकासका लागि पहल गरिरहेका छन् । यसले वडाको विकासमा महत्वपूर्ण टेवा पुगेको छ ।  

वडा अध्यक्ष दिनेश खड्का संगको कुराकानीमा आधारित ......।

kakhara.com ले वडाध्यक्षका योजना, वडामा भएका विकास निर्माण, समस्या, चुनौती लगायतका विषयलाई समेटर स्टोरी प्रकाशित गर्दै आएको छ । 

 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update