रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा अव्यवस्थित पार्किङले अस्तव्यस्तता बढाएको छ । नगरपालिकाले अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न भन्दै फराकिलो सडकमै मोटरसाईकल पार्किङ र खलंगाको सहिद मैदानमा साना चार पांग्रे सवारी साधन पार्किङको व्यवस्था गरेपनि अव्यवस्थित पार्किङ रोकिएको छैन् ।
अहिले पनि बजारका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा सवारी पार्किङ भइरहेको छ । साँघुरो सडकमै सवारी साधन पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढ्दो छ भने बजारलाई कुरुप बनाएको छ । नगरपालिकाले खलंगाबजारको पुष्पलाल चोक हुँदै सहिद गेट सम्मको सडकको एक साईट मोटरसाईकल पार्किङका लागि तोकेको छ ।
त्यस्तै बालमन्दिर अगाडीको सडकलाई पनि मार्किङ गरेर नगरपालिकाले मोटरसाईकल पार्किङको व्यवस्था गरेको छ । त्यस्तै सहिद मैदानलाई चार पांग्रे साना सवारी साधनको पार्किङ स्थल तोकिएको छ । नगरपालिकाले तोकिएका ठाउँमा मात्र पार्किङ गर्न भनेको छ । तर जथाभावि पार्किङ रोकिएको छैन् ।
तोकिएको ठाउँ भन्दा अन्यत्र ठाउँमा मोटरसाईक, जीप, हाईस, ट्याक्टर लगायतका सवारी साधन राख्ने गरिएको छ । जथाभावि पार्किङ गरिदा आवत जावतमा समेत समस्या भएको छ । किनमेल तथा अन्य कामका लागि बजार आउनेहरुले पार्किङकै कारण हैरानी खेप्ने गरेका छन् ।
नगरपालिकाले अव पार्किङमा अटेरी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पहिलो चरणमा तोकिएको ठाउँमा पार्किङ गर्नका लागि चालकहरुको वाणि सुधार्न नगर प्रहरी परिचालन गरेर कडाई गर्ने र त्यति गर्दापनि अटेरी गर्नेलाई कानुनी कारवाही गर्ने नगरकार्यपालिका प्रवक्ता समिरजंग मल्लले जानकारी दिनुभयो ।
अहिले सबैलाई जे गरेपनि हुन्छ भन्ने परेकोले समस्या भएको उहाँले बताउनुभयो । अव धेरै समय यस्तो नहुने उहाँले बताउनुभयो । पार्किङका विषयमा नगरपालिकाले वडासंग पनि छलफल गरिरहेको उहाँले बताउनुभयो ।