Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट गाउँपालिकाले पुरा गर्यो राजस्वको लक्ष, गत वर्ष लक्ष पुरा गर्ने एक्लो पालिका 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा राजस्वको लक्ष पुरा गरेको छ । बाँफिकोट राजस्वको लक्ष पुरा गर्ने जिल्लाको एक्लो पालिका बनेको छ । गाउँपालिकाले वितेको वर्ष ३५ लाख राजस्व संकलन गर्ने लक्ष लिएकामा ५३ लाख ७७ हजार ४ सय १ रुपैंया उठाएको हो ।

विभिन्न शिर्षकमा गाउँपालिका तथा वडापालिकाबाट उक्त राजश्व संकलन भएको हो । गाउँपालिकाबाट ४७ लाख ९ हजार ७ सय ७७ रुपैंया राजस्व संकलन हुँदा वडामा सबैभन्दा बढी १० नम्बर वडाले १ लाख ४७ हजार ३ सय ४ रुपैंया उठाएको छ । 

त्यस्तै वडा नम्बर १ बाट १५ हजार ५ सय ४०, वडा नम्बर २ बाट ६८ हजार ४ सय ३२, वडा नम्बर ३ बाट ६३ हजार ८ सय २०, वडा नम्बर ४ बाट १ लाख १० हजार ४ सय ४० र वडा नम्बर ५ बाट १९ हजार २ सय ७६ रुपैंया राजश्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नम्बर ६ बाट ८९ हजार ४ सय २०, वडा नम्बर ७ बाट १५ हजार ७२, वडा नम्बर ८ बाट ६७ हजार १९ र वडा नम्बर ९ बाट ७१ हजार उठेको छ । गाउँपालिकाले वितेको वर्ष लक्ष भन्दा १८ लाख ७७ हजार ४ सय १ रुपैंया बढी राजश्व उठाएको हो । 

वितेको वर्ष जिल्लामा बाँफिकोट गाउँपालिकाले मात्र राजस्वको लक्ष पुरा गरेको छ । तीन नगरपालिका र तीन गाउँपालिका रहेकामा अन्य ५ स्थानीय तहले राजस्वको लक्ष पुरा गर्न सकेनन् ।   
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update