Kakhara सबैको खबर सम्पूर्ण खबर
आमाको स्मृतिमा पूर्व मन्त्री र पूर्व मेयरद्वारा विद्यालयलाई सहयोग
स्मृति दिवशको कार्यक्रम सम्बाेधन गर्दै पूर्वमन्त्री शर्मा । ।

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र चौरजहारीका पूर्व नगरप्रमुख विशाल शर्माले आमाको सम्झनामा विद्यालयलाई सहयोग गर्नुभएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ को आधारभुत विद्यालय लहरेसिमललाई पूर्व मन्त्री र पूर्व नगरप्रमुख शर्माले विद्यालयलाई फूलका विरुवा र फूल रोप्न गमला सहयोग गर्नुभएको हो ।

आफ्नी आमा कस्तुरा ढकालको ११ औं स्मृति दिवशको अवसर पारेर उहाँहरुले विद्यालयमै गई गमलाको साथमा फूलका विरुवा सहयोग गर्नुभएको हो । विद्यालयको वातावरण हरियाली र मनोरम बनाउन सघाउ पुगोस भनेर आमा स्मृतिमा फलफूलका विरुवा तथा गमला सहयोग गरिएको बताइएको छ । उहाँहरुले हरेक वर्ष आमाको स्मृतिमा सोही विद्यालयमा कार्यक्रम गरेर विभिन्न खालको सहयोग गर्दै आउनुभएको छ ।

यो वर्ष २७ फूलका विरुवा र २७ गमला सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । सोही कार्यक्रममा कक्षा १ देखि ८ सम्मका गरीब तथा जेहेन्दार ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । राम्रो गर्ने २ जना शिक्षकलाई पुरस्कृत पनि गरिएको छ । कस्तुरा ढकाल स्मृति कोषबाट यो छात्रवृत्ति र पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक नन्दलाल केसीले जानकारी दिनुभयो ।

स्मृति सभामा ५ नम्बर वडाध्यक्ष तथा चौरजहारी नगरप्रमुख पुष्प वादी, उपप्रमुख इश्वरीकुमार विएम, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, नगर कार्यपालिका प्रवक्ता खुमबहादुर खड्का, लगायतको उपस्थिति रहेको थियो ।  
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update