Kakhara सबैको खबर सम्पूर्ण खबर
यि हुन् सिस्ने गाउँपालिकाकाे चालु आ.व.को पहिलो कार्यपालिका बैठकका निर्णयहरु
गाउँकार्यपालिका बैठक ।

रूकुम पूर्वकाे सिस्ने गाउँपालिकाकाे चालु आर्थिक वर्ष २०७९/८० को पहिलो कार्यपालिकाको बैठक बसेको छ । मङ्गलबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा गएको आर्थिक वर्षमा सञ्चालन गरिएका क्रियाकलापको वार्षिक प्रगति समिक्षा गरिएको थियाे । आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि “परिश्रमिकमा आधारित आयोजना” सञ्चालनका लागि सशर्त अनुदान ५५ लाख १८ हजार बजेट प्राप्त भएकोमा वडामा सूचिकृत भएका बेरोजगार संख्याको आधारमा ८ वटा वडामा बजेट बिनियोजन गरी आयोजना सञ्चालन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले कखरा डटकमलाई जानकारी दिनुभयो ।

यस्तै चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतकै “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना” सञ्चालनका लागि सशर्त अनुदानबाटकै २३ लाख ९७ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा वडामा सूचिकृत भएको बेरोजगार संख्याको आधारमा वडामा बजेट बिनियोजन गरी आयोजना सञ्चालन गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । चालु आर्थिक वर्षमै सशर्त अनुदान तर्फ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरकाे साउन २३ गतेको सूचना बमोजिम सिस्ने गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले  साउन २९ गतेसम्म शिक्षा युवा तथा खेलकुद शाखामा पेश हुन आएका भौतिक पूर्वाधार र आइसिटी ल्याब लगायतका कार्यक्रमहरु स्विकृतिका लागि शिक्षा विकास तथा समन्यय इकाई मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरी पठाउने निर्णय पनि पारित भएकाे छ ।

सामाजिक विकास समितिले पेश गरेको सिस्ने गाउँपालिकाको अटो तथा इलेक्ट्रीक रिक्सा सञ्चालन व्यवस्थापन तथा नियमन सम्वन्धी कार्यविधि २०७९ र पशु सुत्केरी भत्ता (भैँसी) अनुदान सञ्चालन कार्यविधि २०७९ र पूर्वाधार विकास समितिले पेश गरेको पूर्वाधार एम्बुलेन्स सञ्चालन कार्यविधि २०७९ स्विकृत गरिएको छ । यसैगरी कार्यपालिकाले वन, वातावरण तथा विपद व्यवस्थापन समितिले तयार पारेको मापदण्ड बमोजिम राहत उपलव्ध गराउने, जिल्ला प्रशासन कार्यालय परिसरमा घेराबार तथा मर्मत सम्भार कार्यका लागि पालिकाको आन्तरिक स्रोतबाट आवश्यक खर्च व्यहोर्ने निर्णय गर्नुका साथै गाउँपालिकामा साउन २४ गते देखि हाजिरी भएका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहलाई स्वागत समेत गरेकाे छ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update