नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य हंशबहादुर शाहीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको सम्मानजनक उपस्थिति हुने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनामा पार्टीको उपस्थिति सम्मान जनक हुने उहाँको भनाई छ ।
समाजवादी प्रेस संगठनले रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एसका कर्णाली प्रदेश सह इन्चार्ज समेत रहनुभएका शाहीले कर्णाली प्रदेशका सबै जिल्लामा प्रदेश सभाका प्रत्यक्ष सिटमा पार्टीकाे दाबी रहने बताउनुभयो । कर्णालीमामा पार्टीको अवस्था मजवुत रहेको भन्दै १० वटै जिल्लामा प्रदेश सभाकाे प्रत्यक्ष तर्फ पार्टीको दाबी रहने उहाँले बताउनुभयो ।
त्यसो नभए परिणाम राम्रो नहुने चेतावनी समेत उहाँले दिनुभयो । कर्णालीमा एक्लै लडेपनि चुनाव जित्नसक्ने अवस्थामा पार्टी रहेको उहाँले दाबी गर्नुभयो । एकीकृत समाजवादी कसैलाई जिताउनकै लागि र ठूलो पार्टी बनाउनका लागि भर्याङ मात्र नबन्ने र स्थानीय तहको निर्वाचनको पाठलाई आत्मसाथ गरेर अगाडी बढ्ने उहाँको भनाई छ ।
फरक प्रसंगमा नेपालमा कम्युनिष्ट एकता अनिवार्य रहेको भनाई उहाँले राख्नुभयो । एमाले र माओवादी मिलेर त्यसको अभ्यास गरेकाे तर उक्त अभ्यास सफल हुन नसकेपनि अव फरक तरिकाले कम्युनिष्ट एकता भइ छाड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । माधव नेपालको नेतृत्वमा कम्युनिष्ट एकता हुने दाबी उहाँको छ ।
साथै उहाँले अहिलेको गठबन्धनलाई अपवित्र भयो, विचार मिलेन भन्ने लगायतका विभिन्न लान्छाना लाग्ने गरेको तर्फ लक्षित गर्दै देशमा कांग्रेसको योगदानलाई पनि भुल्न नहुने तर्फ सचेत गराउनुभयो । प्रतिक्रान्तिका विरुद्ध मोर्चाबन्दी गरेर जानु अन्यथा नभएको उहाँले बताउनुभयो ।
त्यस्तै पार्टीका कर्णाली प्रदेश सदस्य ठकेन्द्रप्रकाश पुरीले ट्रयाक बाहिर गएको कम्युनिष्ट आन्दोलनलाई ट्रयाकमा ल्याउनका लागि संघर्ष चलिरहेको बताउनुभयो । एमालेले क्रान्ति र कम्युनिष्टका कुरा गरेर मजाग गरिरहेको भन्दै सच्चा कम्युनिष्टहरु एक भएर कम्युनिष्ट आन्दोलनलाई सही ट्रयाकमा ल्याउनुको विकल्प नभएको उहाँको भनाई छ । संघर्षको एउटा अंश बाम-लोकतान्त्रिक गठबन्धन भएको पनि उहाँले स्पस्ट पार्नुभयो ।